सिन्धुली– सिन्धुलीमा सोमबार दक्ष युवा परियोजना अन्तर्गत सामाजिक सञ्जाल मार्फत व्यापार व्यबसायहरुलाई प्रबर्धन गर्ने सिपमुलक तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुलीको संयुक्त साझेदारीमा जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ स्थित बोहोरेटारमा समाजिक सञ्जालमा भिडियो, फोटो, वेवसाइट विजनेस पोर्टल जस्ता माध्यमहरुबाट आफ्नो व्यापार तथा व्यवसायलाई प्रचार प्रसारका साथै प्रबर्धन गर्नका लागि सिपमुलक तालिमको आयोजना गरिएको हो ।

गाउँपालिकाको समन्वयमा भएको उक्त परियोजनाद्धारा सुनकोशी गाउँपालिका भित्रका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध स्थानियहरु लाभान्वित भएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा सिड्स नेपाल सिन्धुलीले अहिले जिल्लाको दुधौली नगरपालिका, सुनकोशी तथा मरिण गाउँपालिकामा दक्ष युवा परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । उक्त परियोजना कार्यक्रमले युवाहरुलाई व्यवसायमा अगाडि बढाउदै आत्मा निर्भर हुन मद्दत गरिरहेको गाउँपालिका तथा नगरपालिका स्थानियहरुले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत व्यापार व्यवसाय प्रबर्धन सिपमुलक तालिममा प्रशिक्षण गराउदै राष्ट्रिय फोटो पत्रकार समुह नेपाल सिन्धुलीका अध्यक्ष उद्धब कुमार श्रेष्ठले आफुले गरेका काम तथा व्यापारलाई प्रबर्धन गर्नका लागि सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्न निकै महत्वपुर्ण रहेको बताउनुभएको छ । उहाँले अहिले डिजिटल प्रविधिको युग रहेको हुदाँ आफुले गरेका व्यवसायहरुको फोटो भिडियो तथा अन्लाइन द्धारा विज्ञापन गर्नु निकै प्रभावकारी रहेको बताउदै सबैलाई डिजिटल प्रविधिको प्रयोग गर्दै व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

कार्यक्रमको सहजीकरण दक्ष युवा परियोजनाका फिल्ड सुपरभाइजर प्रतिमा प्याकुरेलले गर्नुभएको थियो ।

