सिन्धुली — बीपी राजमार्गअन्र्तगत सिन्धुलीको चियाबारी–खुर्कोटसुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अहिले यो खण्डमा दैनिक सवारी चाप रहेकाले छिटो निर्माणमा जानुपर्ने माग स्थानीयतहबाट उठ्दै आएको छ । तर कार्यान्वयन भने अझै हुन सकेको छैन ।
चियाबारी–खुर्कोट खण्डमा धेरै घुम्ती र सडकको दूरी लामो भएकाले स्थानीय जनप्रतिनिधिको माग सुरुङ निर्माण गर्नुपर्ने भन्ने छ ।

गत वैशाखमा सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न जानु भएका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष स्थानीय जनप्रतिनिधिसहतिको टोलीले अध्ययन भएर बसेको सुरुङको निर्माण प्रक्रिया अघि बढाइदिन माग गरेका थिए । सुरुङ कमलामाई नगरपालिका–२ को चियाबारीमाथि फेदीबाट सुरु भई गोलन्जोर गाउँपालिका–७ को तल्लो बारामा निस्कनेछ । यो सडकखण्डमा घुम्ती धेरै छन् । यात्रुले यात्रामा असहज महसुस गर्छन ।

धेरै घुम्तीका कारण यो खण्डमा दुर्घट्नाको जोखिम रहेको प्रहरीको भनाइ छ । चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माण भए रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग तराईको दूरीसमेत छोटिनेछ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले यो सुरुङको आर्थिक वर्ष ०७६÷७७ मा सम्भाव्यता अध्ययन गरिसकेको छ । आर्थिक वर्ष २०७४/७५ को अध्ययनअनुसार दूरी ४.९० किमी रहने उल्लेख छ । तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका क्रममा दूरी, लागत यकिन हुने केन्द्रका निर्देशक प्रभातकुमार झाले बताउनुभयो । पूर्व सम्भाव्यता अध्ययनअनुसार खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न १६ अर्ब ८ करोड लाग्ने उल्लेख छ । चियाबारी–खुर्कोट सडक सुरुङ मार्ग निर्माण हुन सके बीपी राजमार्गको नागबेली सडकको दूरी एक तिहाइभन्दा कममा झर्नेछ ।

चियाबारी–खुर्कोट सडकको दूरी अहिले २९.८ किमी रहेकोमा सुरुङ मार्ग निर्माण भए ८.५ किमिमा झर्ने दाबी छ । अहिले उक्त दूरी पार गर्न एकदेखि डेढ घण्टा लाग्छ । सुरुङ निर्माण गर्न सकिए ६ मिनेटमा उक्त दूरी छिचोलिने छ । यो तराईका जिल्ला जान छिटो र छोटो मार्ग हुनेछ । यो खण्ड भएर दैनिक १ हजार ५ देखि २ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला दैनिक ७ देखि १० हजारसम्म सवारीसाधन ओहोरदोहोर गर्छन् ।