Thursday, March 27, 2025

 ‘एचपीभी’ खोप अभियान संचालनको लागि सिन्धुलीमाढीमा सोमबार अभिमुखीकरण कार्यक्रम

सिन्धुली – ‘एचपीभी’ खोप अभियान संचालनको लागि कमलामाई नगरपालिका भित्र अभिमुखीकरण कार्यक्रम भएको छ । कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेल को प्रमुख आतिथ्यता तथा नगर उप–प्रमुख मञ्जु देवकोटाको विशेष उपस्थितिमा बालिकाहरुलाई दिइने पाठेघर क्यानसर विरुद्ध एचपीभी खोप संचालनको लागि अभिमुखीकरण तथा बहस पैरबी कार्यक्रम गरिएको हो । 

सरकारले सम्भावित पाठेघरको मुखको क्यानसर न्यूनिकरण गर्ने हेतुले देशभरका १० देखि १४ वर्षसम्मका बालिकाहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप निशुल्क दिने भएको छ । नेपाल सरकारले देशव्यापी रुपमा माघ २२ गते देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई र विद्यालय नजाने १० देखि १४ वर्ष समुहका किशोरीहरुलाई लक्षित गर्दै पाठेघर क्यानसर विरुद्ध एचपीभी खोप अभियान सञ्चालन गरिएको कमलामाई नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

 अभिमुखीकरण कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोख्रेलले एचपीभी खोप अभियानले हजारौ महिलाहरुको ज्यान बचाउन सक्ने भएको हुदाँ उक्त खोप अभियानलाई सफल परिणाम दिनका लागि नगरपालिका सक्रिय रुपमा लाग्ने बताउनुभएको छ । साथै उहाँले यस्ता किमिका रोगहरुबाट बच्नका लागि किशोरी तथा महिलाहरु सजग रहि आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

 एचपीभी खोप अहिले १४४ देशको राष्ट्रिय खोप तालिका समावेश गरि किशोरीहरु दिदँै आएको कमलामाई नगरपालिकाका मेडिकल डा. सुजन बिक्रम ढकालले जानकारी दिनुभयो । ढकालले यस खोपले राम्रो प्रभाव पारेको विभिन्न अध्ययनले देखाएको हुदाँ धुक्क संग खोप लगाउन आग्रह गर्नुभएको छ ।

त्यस्तै कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापाले आगामी आर्थिक वर्षदेखि सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत एचपीभी खोप निशुल्क प्रदान गर्ने जानकारी दिनुभएको छ । उहाँले खोप लगाई सके पछि सुई लगाएको ठाउँमा सुनिने, दुख्ने, रातो हुने, टाउको दुख्ने, रिँगटा लाग्ने, ज्वारो आउने, पेट दुख्ने, मांशपेशी दुख्ने, थकाई लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता असरहरु देखिने तर यस प्रकारका असरहरु खोप लगाएको केहि समय पछि आफै ठिक हुने बताउनु भएको छ ।

कमलामाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बालिका तथा किशोरीहरुलाई दिइने एचपीभी खोप सञ्चालनको बारेमा स्थानिय तह स्तरीय खोप समन्वय समिती, जनप्रतिनिधि तथा सरोकारवालाहरु विच बहस पैरबी तथा अभिमुखीकरण भएको हो ।

spot_img

Hot Topics

Related Articles