आस्था विश्वकर्मा /सिन्धुली
सिन्धुलीको मरिण गाउँपालिकामा मंगलबार ख्रीष्टमस शुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ । ईसाइ धर्मावलम्वीहरु को महान पर्व ख्रीष्टमसको अवसरमा मरिण गाउँपालिका तथा हरिहरपुरगढी गाउँपालिकाको संयुक्त ईसाइ एकता समाजको आयोजनामा मरिण गाउँपालिका ५ बडिमुहानमा ख्रीष्टमस शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो ।

आजभन्दा दुई हजार वर्ष अगाडि समस्त मानव जातीहरुलाई पापबाट उद्धार र मुक्ति दिनको लागि येशुख्रीष्ट यस संसारमा आउनुभएको खुसीयालीको अवसरमा संसारभर नै डिसेम्बर २५ तारिखमा ख्रीष्टमस मनाईने गरिन्छ ।

ख्रीष्टमस शुभकामना कार्यक्रममा क्षेत्री ईसाइ एकता समाज सेवाका अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षता तथा बागमति प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ख्रीष्टमस शुभकामना व्यक्त गर्नुहदै बागमति प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जनले नेपाल धर्म निर्पेक्ष देश भएको हुदाँ देशमा विभिन्न धर्ममा आस्था राख्ने मानिसहरु भएको र एकअर्काको धर्ममा आस्था राख्ने व्यक्तिहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले हामीहरु एकअर्का बिच ख्रीष्टको जस्तै प्रेम बढ्नुपर्ने बताउनुभयो ।
ईसाइहरुले एकअर्का प्रति गर्ने प्रेम, सद्भाव, सहअस्तित्व, तथा एकता एकदमै महत्वपूर्ण रहेको मरिण गाउँपालिका उपाध्यक्ष विमला माझीले बताउनुभयो ।

ईसाइरुको अनुशासन, एकअर्कालाई गरिने व्यवहारहरुले अरु व्यक्तित्वहरुलाई पनि आकर्षण गर्नु पर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले ईसाइ धर्मावलम्वीहरुलाई आवश्यक अनुरुपको साथ सहयोग सदैव गर्ने गाउँपालिका उपाध्यक्ष माझीले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको अवसरमा पास्टर निरञ्जन अधिकारीले येशुख्रीष्टको जन्ममा आधारित वचन प्रस्तुत गर्नुभएको थियो ।
उहाँले पवित्र धर्मशास्त्र बाइबलबाट येशुख्रीष्टको जन्मबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मरिण गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो भने विभिन्न राजनितीक दलका प्रतिनिधी, विभिन्न मण्डलीका पास्टर, ईसाइ तथा गैर ईसाइ व्यक्तिहरु लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम परमेश्वरको महिमा प्रशंसा गर्दै ख्रीष्टमसका विभिन्न गीतहरुमा नाचगानका साथ एकअर्कामा शुभकामना आदन प्रदान गरिदै मनाईएको छ ।