आस्था विश्वकर्मा/ सिन्धुली
सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विहिबार २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । “विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ समाज निर्माणमा सहभागिता” भन्ने मूल नाराका साथ विहिबार २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

हरिहरपुरगढी गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकराको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकराले निस्वार्थ भावनाले हरेक घर, टोल तथा व्यक्ति बिच पुगेर स्वास्थ्य सम्बन्धी जानकारी लिई काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रशंसा गर्नुभएको छ । उहाँले बिना पारिश्रमिक काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई हरेकले उचित प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नेपाल सरकारले प्रोत्साहन स्वरुप जनही ५ हजार रुपैया नगद प्रदान गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले संघिय सरकारको तर्फबाट १ हजार र पालिकाबाट १ हजार ५ सय गरि मासिक २५ सय सेवा भत्ता पाईरहेको हरिहरपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज सुयालले जानकारी दिनुभयो । हाल हरिहरपुरगढी गाउँपालिकामा ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् । कार्यक्रममा पालिका क्षेत्रका स्वास्थ्यकर्मी शाखागत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।