Monday, April 22, 2024

कमलामाई नगरपालिका-१२ मा भूमिहीन दलित तथा सुकुम्बासीहलाई जग्गा धनी प्रमाण–पत्र (लालपुर्जा )वितरण

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका–१२ का १५ जना भूमिहीन दलित तथा सुकुम्बासीहरूले जग्गा धनी प्रमाण–पत्र (लालपुर्जा) प्राप्त गरेका छन् ।

कमलामाई नगरपालिकाले आइतबार वडामै पुगेर भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरेको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार ३ जना भूमिहिन दलित र १२ जना भूमिहीन सुकुम्बासी गरी १५ जना सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।

राष्ट्रिय भूमि आयोग सिन्धुलीसँगको समन्वयमा कमलामाई नगरपालिका भूमिहीन दलित, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास सेवाकेन्द्रले १५ जना भूमिहीन सुकुम्बासीलाई ३ बिगाह १३ कठ्ठा १६ धुर जग्गाको लालपुर्जा वितरण गरेको पोखरेलले बताए । उक्त वडामा २३ जना भूमिहीन सुकुम्बासीसहित ३ सय ३६ जनाले जग्गा प्राप्तीका लागि सेवा केन्द्रमा निवेदन दिएका थिए। जिल्ला समन्वय समितिका संयोजक कार्साङ लामा, नगर उपप्रमुख मन्जु देवकोटा भूमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठ, मालपोत कार्यालयका प्रतिनिधि समेतको सहभागिता रहेको कार्यक्रममा भूमिहीनहरूलाई लालपुर्जा वितरण गरिएको बताइएको छ । आयोगले सो वडामा २ सय ६६ कित्ताअन्तर्गत ४८ बिघा २ कठ्ठा १२ धुर जग्गा नापजाँच गरेको थियो । नगरपालिकाले यसअघि कमलामाई नगरपालिका ७ का ८ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिसकेको छ । कमलामाई नगरपालिकामा मात्र ७ सय ११ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूले भूमि प्राप्तिका निवेदन दिएको कमलामाई नगरपालिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास सेवाकेन्द्रका केन्द्र प्रमुख मुकेश तामाङले जानकारी दिए ।

नगरले वडा नम्बर ९ र १० का भूमिहीनहरूलाई समेत जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु गरेको तामाङको भनाइ छ । यसबाहेक राष्ट्रिय भूमि आयोग सिन्धुलीले दूधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न थालेको छ ।

spot_img

Hot Topics

Related Articles