Thursday, April 18, 2024

तराई मधेसमा तीन हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ का आशनारायण पटेल बिहान घर बाहिर निस्कन नसकेको कयौँ दिन भयो । बिहान अबेरसम्म नजिकै पनि देख्न नसक्नेगरी हुस्सु लाग्छ । शीतसहितको हावाले मुटु कठ्याङ्ग्रिन्छ । 

पटेल भन्नुहुन्छ ‘चिसोले सताइरहेको छ, गाईबस्तुलाई घाँसकुँडो दिनै समस्या छ, पानी बोकेको हावा चल्छ, हातगोडा कक्रक्क हुन्छ अनि कसरी बाहिर निस्कनु, दिउँसोपछि अलि कम भए पनि भोलि बिहान फेरि उस्तै हुन्छ ।’ 

सर्लाही मात्र हैन तराईका सबैजसो क्षेत्रमा बिहान बाक्लो हुस्सु लाग्न थालेको तीन हप्ता भइसक्यो । बिहान चल्ने हावामा हिँड्यो भने शरीर नै भिजाउने गरी शीत पर्छ । केही ठाउँमा दिउँसोतिर मौसम खुले पनि कतै त दिनभर नै घाम लाग्दैन । अहिलेको अवस्थालाई हेर्दा तराईका जिल्लाहरुमा शीतलहर चलेको भन्न सकिने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्दीय विभागका मौसम अनुसन्धानकर्ता विनोद पोखरेल बताउनुहुन्छ । 

तर जल तथा मौसम विज्ञान विभागले तराईमा शीतलहर चलेको घोषणा गरेको छैन । शीतलहर चलेको घोषणा गरेपछि प्रभावित क्षेत्रमा तीनवटै तहका सरकारहरु क्षति न्यूनीकरणका लागि सक्रिय हुनुपर्छ । पीडितहरुलाई राहत पुर्याउनुपर्छ । कतै त्यही भूमिकाबाट पन्छिन शीतलहरको घोषणा नगरेको हैन भन्ने प्रश्न उठेको छ । तर मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सञ्जीव अधिकारी शीतलहर घोषणा गर्नुपर्ने गरी सूचकहरु पूरा नभएको दाबी गर्नुहुन्छ । 

मौसमविद् अधिकारी भन्नुहुन्छ ‘अधिकतम तापक्रम औसतमा पाँच डिग्री सेल्सियस वा त्योभन्दा कम भएमा, लगातार केही दिनसम्म उच्चतम र न्यूनतम तापक्रम बीचको दूरी पाँच डिग्री वा त्योभन्दा कम भएमा, भिजिबिलिटी वा पारदर्शीता कति छ र कतिको परिवर्तन भएको छ लगायतका सूचकका आधारमा शीतलहर घोषणा गर्ने हो । सूचक पूरा भएपछि घोषणा गर्छौँ, अहिलेसम्म सूचक पूरा भएको देखिँदैन ।’

नेपालको तराईमा तीन दशक अघिसम्म अहिले जस्तो शीतलहर चल्दैनथ्यो । सन् १९९२ पछिका हिउँदमा नेपालको तराईमा दिनभरि घाम लाग्न छाडेको हो । यसमा भारतका बिहार, उत्तर प्रदेश र नेपालको तराईमा खुलेका उद्योगले वायुमण्डल प्रदूषित हुनु मुख्य कारण रहेको विज्ञहरु बताउँछन् । 

मौसमविद्का अनुसार हिउँदमा गंगा र यमुना नदीबाट आउने जलवाष्प प्रदूषित वायुमण्डलमा मिसिन्छ । जमिनको सतहदेखि झन्डै ५ सय मिटरसम्म यस्तो कुहिरो बन्छ । जमिनको तापक्रम कम र माथिको तापक्रम बढी हुने भएकाले कुहिरो माथि जानुको साटो दायाँबायाँ फैलिन्छ । तापक्रम कम हुने र ठूलो मौसमी प्रणाली नआउने भएकाले लामो समयसम्म कुहिरो हट्दैन । शीत खसेजस्तै पानी पर्ने भएकाले यसलाई शीतलहर भनिएको हो । शीतलहर चल्दा दिउँसो तापक्रम स्थिर हुन्छ ।  यो क्रम हरेक वर्ष बढ्दो छ ।

यसपालि शीतलहर भनेर औपचारिक घोषणा नभए पनि प्रकृति उस्तै देखिएको छ । तीन हप्तादेखि चलिरहेको हुस्सु कुहिरोको अवस्थामा सुधार हुन पश्चिमी वायुको प्रणाली सक्रिय हुनैपर्ने मौसमविद् अधिकारी बताउनुहुन्छ । 

दिउँसो तात्न नपाएको शरीर राति बाक्लो ओढ्ने नभएपछि झन् चिसो हुन्छ । पर्याप्त तातो र झोलिलो खाना नपाउने विपन्न वर्गका मानिसले घरमै पनि ज्यान गुमाउँछन् । तराईमा अहिलेको चिसोबाट बच्न न्यानो कपडा तथा पर्याप्त तातो र झोलिलो खानेकुरा नै रहेको विज्ञहरु बताउँछन् । यस्तै, बिहान सकेसम्म घरबाहिर निस्कनुहुन्न ।

चिसोले तराईमा ज्यानै जाने अवस्था आउनुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको पाइन्छ । न्यानो कपडा किन्ने तथा अर्को वर्षका लागि राख्ने चलन नभएका समुदाय बढी प्रभावित हुने गरेका छन् । शीतलहरको अवस्था घोषणा भए पनि, नभए पनि तराईका जिल्लाहरुमा चिसोबाट नागरिकलाई बचाउन पालिका, प्रदेश र सङ्घीय सरकारले पहल गर्न ढिला भइसकेको  छ ।  

spot_img

Hot Topics

Related Articles