काठमाडौं— काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती, प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

'आज पनि सोमबार र मंगलबारजस्तै पानी पर्नेछ । भोलिबाट पानी पर्नेक्रम कम हुनेछ,' मौसमविद् गङ्गा नगरकोटी भन्छिन्, 'काठमाडौंमा आज मंगलबार जस्तै पानी पर्ने र केही समय रोकिने क्रम आज दिनभर चलिरहनेछ ।'

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नेपालबाट मनसुन बाहिरिन बाँकी रहेको र भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र बनेका कारण नेपालमा केही दिनदेखि लगातार वर्षा भइरहेको मौसमविद् नगरकोटी बताउँछिन् ।
वर्षाले नदीको जलसतह हल्का बढ्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ । त्यसैले सम्भावित क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ ।