काठमाण्डाै – इजरायलमा चलिरहेकाे द्वन्द्वमा फसेका आफन्तकाे तत्काल उद्धार गर्न पीडित परिवारले सरकारसँग आग्रह गरेका छन् ।
आज सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग इजरायलमा चलिरहेकाे द्वन्द्वमा फसेका लोकेन्द्रबहादुर विष्टसहित नौ जना विद्यार्थीलाई सुरक्षित ढङ्गले नेपाल ल्याउन आग्रह गरेका हुन् । प्यालिस्टनी विद्रोही समूह हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी चन्द्रा विष्टले बताउनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थी अध्ययनका लागि इजरायल गएका थिए । उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेकाले सरकारले उनीहरूलाई नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बच्चासँग हामी आधा आधा घण्टामा सम्पर्कमा छौँ । बच्चाहरू आत्तिइरहेका छन् । अब नेपालबाट परराष्ट्रमन्त्रीज्यूले हाम्राे बच्चाहरूलाई छिटो लिएर आउनु पर्याे । यो हाम्रो मात्रै चिन्ताको विषय होइन, उहाँहरूले पनि चिन्ता गर्नुपर्छ । उनीहरू अहिलेसम्म सुरक्षित छन्, बङ्कर छैन । हामीलाई बङ्कर भएको ठाउँतिर छिटो सारिदिनु पर्याे भनेर उनीहरूले भनिरहेका छन् ।सुरक्षित ढङ्गले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेउ सरकार ।’
पीडित पक्षले इजरायलमा रहेका विद्यार्थीहरूसँग पराराष्ट्रमन्त्रीकाे 'भर्चुअल' सम्पर्कसमेत गराएका थिए । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्रमन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।