काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ ।
राजस्व छलीको आशङ्कामा नेपालका खर्बपति व्यापारी चौधरीको सहायक कम्पनी सीजी कर्प ग्लोबलको जयपुर, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबार आयकर विभागले छापा मारेको हो ।
गुवाहाटीस्थित आयकर विभागको टोलीले चौधरीको कम्पनीमा छापा मारेर कागजात जफत गरेको स्थानीय टेलिभिजन सच बेधड़कले दाबी गरेको छ । सो टेलिभिजनले सीजी कर्पको कार्यालयमा छापा हानेको फुटेजसमेत सार्वजनिक गरेको छ । उसले विनोद चौधरीलाई ‘राजस्थानी मूलका’ एक मात्र नेपाली अर्बपतिसमेत भनेको छ ।
चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले पर्याप्त आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले कारबाही शुरु गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सीजी ग्रुप ग्लोबलको सहायक कम्पनी सीजी फुड इन्डिया प्राइभेट लिमिटेड राजस्थानको अजमेर जिल्लाको रुपनगढमा स्थापना भइरहेको ग्रीनटेक मेगा फुड पार्कको प्रमुख संस्थापक हो ।
उपलब्ध कागजातको जाँचका आधारमा आयकर अधिकारीले ग्रीनटेक मेगा फुड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा मारिएको छ ।
चौधरीको सीजी कर्पसँगै अन्य भारतीय कम्पनीमाथि पनि आयकर विभागले छापा हानेको छ ।