काठमाडौं— प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) र राहत शिक्षकको संयुक्त आन्दोलनमा बुधबार नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विभिन्न माग राख्दै ६ दिनदेखि माइतीघर मण्डला—नयाँ बानेश्वर सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई प्रहरीले हस्ताक्षेप गरेको हो । शिक्षकले बल गरेर निषेधित क्षेत्र तोडेर संघीय संसद् भवनतर्फ जान खोजेपछि प्रहरीले रोकेको हो । प्रहरीले रोकेपछि शिक्षकले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजी गरे ।
संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन माग गर्दै ईसीडी र राहत शिक्षक आन्दोलित भएका हुन् ।
ईसीडी शिक्षकले बालविकास केन्द्रलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने र आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई अनुदान दिएर बिदा गर्नुपर्ने माग राखेका छन् ।
राहत शिक्षक केन्द्रीय समितिले भने राहत शिक्षकको ४० हजार दरबन्दीमा हाल राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिनुपर्ने माग राखेका छन् ।
शिक्षा विधेयकमा ‘राहत शिक्षक अनुदान कोटा दरबन्दीमा कायम भएपछि हुने विज्ञापनमा राहत तथा विशेष शिक्षामा कार्यरतलाई उमेर हद नलाग्ने, दरबन्दी कायम भएको राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा ५० प्रतिशत कार्यरत मध्येबाट पदपूर्ति हुने व्यवस्था छ ।
सरकार र शिक्षक महासंघबीच भएको सहमतिले आफूहरूको माग सम्बोधन नभएको राहत र ईसीडी शिक्षकको भनाइ छ ।