सर्लाही – सर्लाहीकाे सदरमुकाम मलङ्गवामा लागेको कर्फ्यु हटेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ८ बजेदेखि कर्फ्यु हटेको हाे । अहिले जनजीवन सामान्य बन्दै गएको छ ।
बजार खुलेका छन् भने गाडी पनि सहज रुपमा चलिरहेका छन् । मलङ्गवामा हिजो बेलुका ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।
अस्ति शुक्रवार बेलुका मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीचको विवादमा झडप भएको थियो । केही व्यक्ति र प्रहरी समेत घाइते भएका थिए । हिजो दिउँसो फेरि दुवै पक्षबीच विवाद बल्झिएपछि स्थानीय प्रशासनले सुरक्षा बढाउँदै कर्फ्यु लगाएको थियो ।
पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।