Saturday, July 13, 2024

पाेखरामा बजार अनुगमन : म्याद गुज्रेका सामान बेच्ने पसललाई १ लाख रुपैयाँ जरिबाना

कास्की – अनुगमन समिति कास्कीले पाेखरामा बजार अनुगमन गरेको छ । आज साेमवार अनुगमनका क्रममा समितिले पोखरा महानगरपालिका–७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना गरेको छ । स्टाेर्सले म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको भन्दै समितिले जरिबाना तोकेको हो ।

स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल ‘लेबलिङ’ नभएको, मिट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजबल १५ प्याकेट लगायतका झन्डै २९ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामान नष्ट गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले जानकारी दिनुभयाे ।

त्यसैगरी दालको लेबल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै समितिले चेतावनी पनि दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

अनुगमनकै क्रममा पोखरा–३ पालिखे चोकमा रहेको गौरव ट्रेडर्सबाट म्याद गुज्रेका १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी १० हजार रुपैयाँ जरिबाना गरेको संयोजक ढकालले बताउनुभयाे ।

त्यसैगरी पालिखे चाेकमै रहेकाे रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेका ११ किलो सुजी नष्ट गरी पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । याे पसललाई समितिले ५ हजार रुपैयाँ जरिबाना तोकेको छ ।

यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति थियो ।

spot_img

Hot Topics

Related Articles