काठमाण्डाै – नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र शुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा अहिले बिहान शुरु हुने बन्दसत्रमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस हुनेछ।
छलफलबाट यी प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुनेछ । बाग्मती प्रदेश अधिवेशनमा एक हजार १ सय ३८ जना प्रतिनिधि सहभागी छन् ।
नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गर्ने गरी तयारी भइरहेको एमालेले जनाएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि आकाङ्क्षी धेरै छन् ।
अध्यक्षमा बाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाललगायतले दाबी गर्दै आउनुभएको छ । एमालेको बाग्मती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ ।
कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ ।
अधिवेशनको काठमाण्डौको भृकुटीमण्डपमा हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । उहाँले प्यानल बनाएर चुनाव नलड्न निर्देशन समेत दिनुभएको छ ।