Thursday, March 27, 2025

सिन्धुलीका ४ पालिकामा डेंगुका १६ जना बिरामी फेला

बिजय भोलन

सिन्धुली- विगतमा महामारीकै रुपमा देखिएकोे डेंगु रोग यसपाली पनि जिल्लामा देखा परेको छ । सिन्धुली जिल्लाको ४ पालिकामा मात्र १६ जना डेंगुका विरामी फेला परेका छन् । सङ्क्रमित मध्ये ५ महिला र ११ पुरुष रहेका छन् ।


स्वास्थ्य कार्यालय, सिन्धुलीका अनुसार जिल्लाको ९ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा डेँगु सङ्क्रमित पुष्टि भएको छ। सबैभन्दा धेरै कमलामाई नगरपालिकामा १ महिला र ८ पुरुषसहित ९ जनामा सङ्क्रमित पुष्टि भएको हो । तीनपाटन गाउँपालिकामा २ महिला र ३ पुरुषसहित ५ जना, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा क्रमश एक/एक जना महिलामा डेँगु सङ्क्रमण पुष्टि भएको हो। जिल्लामा यस पटक डेँगु सङ्क्रमणकै कारण ज्यान भने कसैले गुमाएका छैनन् ।


कमलामाई नगरपालिका क्षेत्रमा बढी डेंगुको संक्रमण देखिएको छ । विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदूरहरुमा डेंगुको संक्रमण देखिएको हो । डेंगु रोगी देखिए लगत्तै घरदैलोमार्फत बिभिन्न क्षेत्रमा डेंगू रोग लाग्ने लार्भा नष्ट गर्ने अभियानमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु सक्रिय रुपमा लागि परेको स्वास्थ्य कार्यालय, सिन्धुलीले जनाएको छ ।

पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । सो जमेको पानीको पहिचान गर्दै कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकाले डेंगूको लार्भा नष्ट अभियान सञ्चालन गरिसकेकोे जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका जन स्वास्थ अधिकृत कृतिसा थिङले जानकारी दिनु भयो । अन्य पालिकामा भने अभियान सञ्चालन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् ।
डेंगुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पतालमा वा स्वास्थ्य संस्थामा गएर चिकित्सको सल्लाह अनुसार उपचार गराउन र घर वरपरको वातावरणमा पानी जम्न नदिन, लामखुट्टेको लार्भा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाई आग्रह गर्नुभयो ।

spot_img

Hot Topics

Related Articles