सिन्धपाल्चाेक – अविरल वर्षापछि मेलम्चीमा आएकाे बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा क्षति पुर्याएकाे छ ।
मेलम्ची नदीमा आएको बाढीले हेलम्बु–४ मा रहेकाे सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ । विद्यालयकाे कक्षाकोठा समेत उच्च जोखिममा परेकाे हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयाे ।
लामिछानेले भन्नुभयाे ‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ ।’ सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले बताउनु भयाे । बाढीका कारण ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको उहाँले बताउनु भयाे ।
यस्तै, बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाउने प्रयास गरे पनि निरन्तर वर्षाका कारण सडक सञ्चालनमा आउन सकेकाे छैन। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।