Thursday, March 27, 2025

मरिण गाउँपालिकाद्धारा उपाध्यक्ष माझी र कांग्रेसले लगाएको आरोप सत्य नभएको दावि

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिकाले उपाध्यक्ष विमला माझी र नेपाली कांग्रेस मरिण गाउँपालिका कार्यसमितिले सार्वजनिक गरेको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता कमलबहादुर आले मगरले सोमबार विज्ञप्ति जारी गरी सो अभिव्यक्तिको खण्डन गरेको हो ।
नेपाली कांग्रेस मरिण गाउँपालिका कार्यसमितिले आइतबार प्रेस विज्ञप्तिमार्फत र उपाध्यक्ष माझीले सोमबार पत्रकार सम्मेलन गरी गाउँपालिकाको नागरिकप्रति जवाफदेहिता, समग्र आर्थिक पार्दर्शीता र गुणस्तरीयताका लागि प्रश्न गर्दा आफूमाथि दुव्र्यवहार भएको आरोप लगाएका थिए ।

यही भदौ १ गते गाउँ कार्यपालिकाका पदाधिकारी, शाखा प्रमुखहरु र वडा सचिवहरुको उपस्थितिमा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले आफूमाथि अपशब्द प्रयोग गरेकोलगायत आरोप उपाध्यक्ष माझीको थियो । गाउँपालिकाले उपाध्यक्ष र कांग्रेसको उक्त आरोपमा सत्यता नरहेको स्पष्ट पारेको छ ।
गत आर्थिक वर्षको समीक्षा र चालु आर्थिक वर्षमा अझ व्यवस्थित तरिकाले कार्यसम्पादन गर्ने विषयमा अन्तरक्रिया गरिएको गाउँपालिकाको विज्ञप्तिमा उल्लेख छ । ‘अन्तरक्रियामा वडा सचिव, शाखा प्रमुख, कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीसमेतले आफ्नो धारणा राखिसकेपछि उपाध्यक्षज्यूले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिकाको काम कारबाहीसम्बन्धी सबै विषयमा मेरो सहभागिता रहनुपर्नेमा सो अनुरूप हुन नसकेको गुनासो गर्नुभएको थियो । आर्थिक स्रेस्तासम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत श्री ओमबहादुर दर्जीज्यूबाट उपाध्यक्ष विमला माझीज्यूलाई स्पष्ट पार्नुभएको थियो । उक्त प्रस्तुतीकरणमा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट अपशब्द प्रयोग भएको थिएन ।’


उपाध्यक्ष माझीले आफ्नो असन्तुष्टि गाउँ कार्यपालिकाभित्र राख्नुको सट्ट पत्रकार सम्मेलन गरी गलत अभिव्यक्ति दिनु सोभनीय नभएको गाउँपालिकाको भनाइ छ । ‘उक्त सम्बन्धमा मिति २०८०÷०५÷०४ गतेका दिन बसेको मरिण गाउँ कार्यपालिका र मरिण गाउँपालिकाका शाखा प्रमुख, वडा सचिव, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलगायत मरिण गाउँपालिकामा कार्यरत कर्मचारीहरुको संयुक्त बैठकले समेत नेपाली कांग्रेसद्वारा जारी प्रेस विज्ञप्ति र उपाध्यक्ष्यज्यूले गर्नुभएको पत्रकार सम्मेलनमा व्यक्त भनाइमा सत्यता नरहेकोले सोको खण्डन गरिएको छ,’ प्रवक्ता आलेगमरद्वारा जारी विज्ञतिमा उल्लेख छ ।
मरिण गाउँ कार्यपालिका बैठकमा एजेन्डागत रुपमा व्यापक छलफल तथा हरेक विषयमा निर्णय गरी निर्णय प्रक्रियालाई कार्यान्वयन गर्ने गाउँपालिकाको अभ्यास रहेको स्पष्ट पारिएको छ । ‘निर्णय भई कार्यान्वयन गरिएका कुराहरुलाई समेत उपाध्यक्षज्यूबाट जानकारी छैन भन्नुले हामी आचार्यचकित भएका छौं । उपाध्यक्षज्यूको मागअनुसार शाखा, फाँट तथा कार्यालयबाट विवरणहरु उपलब्ध भइ नै रहेको छ । मरिण गाउँपालिकाबाट सम्पादित हरेक क्रियाकलाप एवं कामकारवाहीहरु गाउँपालिकाको फेसबुक पेज तथा वेबसाइटबाट निरन्तर प्रकाशित हुने व्यवस्था मिलाइनुका साथै सूचनाको प्रकृतिअनुसार कानुनबमोजिम सूचनाहरु प्रदान गरिँदै आएका छौं आगामी दिनमा पनि कानुनबमोजिम निरन्तर रुपमा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
आफ्नो कार्यक्षेत्रअनुसार सहज तरिकाले काम गर्दै मरिणलाई समृद्ध बनाउने दिशामा गाउँपालिका अघि बढेको उल्लेख गर्दै असहमतिका विषयहरु छलफलमार्फत समाधान गरिने जनाइएको छ । छलफलमार्फत समाधान निकाल्ने विकल्प हुँदा हुँदै प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन गर्नु समृद्धिका लागि बाधक भएको गाउँपालिकाको भनाइ छ ।
‘असहमतिका विषयमा छलफलद्वारा समस्याको समाधान गर्ने विकल्प हुँदाहुँदै राजनीतिक रुपमा प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन गरिनु मरिणको समृद्धिको लागि पनि बाधक र गाउँपालिकाको लागि दुःखदायी कुरा हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रसेवक कर्मचारी हाम्रा प्रतिस्पर्धी नभएर सहयोगी भएको हुँदा विनाआधार, कपोकल्पित ढंगबाट लाञ्छाना लगाउने यस्तो प्रकारको आरोपको भत्र्सना गर्दै आगामी दिन जनप्रतिनिधि र कर्मचारीको बीचमा थप प्रगाढ एवं समुधुर सम्बन्ध स्थापित गर्न, गराउन सम्बद्ध सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौं ।’
गाउँपालिकाले विकास निर्माण तथा सुशासन कायम गर्ने, गराउने कार्यमा आगामी दिनहरुमा आ–आफ्नो कार्य क्षेत्रमा प्रतिबद्ध भई उच्च मनोबलका साथ लाग्न सबै जनप्रतिनिधि र कर्मचारीहरुमा अपिल गरेको छ । साथै, कपोकल्पित आरोपजन्य भ्रममा नपर्नपनि सम्पूर्ण मरिणवासीमा अनुरोध गरिएको छ ।

spot_img

Hot Topics

Related Articles