Friday, April 25, 2025

सिन्धुलीमा वर्षे धान रोपाइँ सुरु

विजय भोलन, सिन्धुली

सिन्धुली – सिन्धुलीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो ।


असार महिना सुरु भएसँगै सिन्धुलीका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । सिन्धुलीको कमलामाई नगरपालिका,दुधौली नगरपालिका, कमलाखोच,मरिण क्षेत्रमा अहिले धान रोप्न किसानको लर्को देखिन्छ । विशेष गरी खोला खेतमा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन् ।


असारमा मानो रोपेर मंसिरमा मुरी फलाउँछान् कृषकहरु । असार लागेसंगै किसानहरु मानो रोप्नलाई चटारोमा छन् । कामको थकान महसुस हुन नदिन रोपारहरु असारे गित गाँउदै छुपुछुपु धान रोप्ने पनि गर्दछन् ।
घामले धानको बीउ डढेर कम भए पनि रोपाई भने नरोकिएको कमलामाई नगरपालिका १ डाढीका किसान कर्ण बहादुर मगरले बताउनुभयो । उहाँले ब्याडमा रहेका छोटा बीउ समेत रोपेर धान रोपाइँलाई तीव्रता दिएको सुनाउनुभयो ।

धानखेतीका लागि नभई नहुने रासायनिक मलको समेत किसानले अभाव खेपिरहनुपरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन ।’ धानको बीउको अभाव रहे पनि धान रोपाइँको चटारो चलेको बताउनुभयो ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको २०, २२ तिर किसानलाई धेरै चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार अन्तिम सम्ममा सिन्धुलीको केहि स्थानमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको मरिण गाउँपालिका –५ का किसान सुमान माझीले बताउनुभयो ।
कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन्।

जिल्लामा १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञानकेन्द्र सिन्धुलीको दाबी छ । अहिले सम्म जिल्लाको दुधौली,कमलाखोच,मरिण क्षेत्र,कमलामाई नगरपालिका जहाँ सिचाईको सेवा छ सो क्षेत्रमा धान रोपाई सहज भएको र वढि रोपाई भएको कृषि ज्ञानकेन्द्र सिन्धुलीले जनाएको छ ।
कृषि ज्ञानकेन्द्र सिन्धुलीका अनुसार जिल्लामा ६२ हजार ७ सय १३ हेक्टर क्षेत्रफल खेती योग्य जमिनमध्ये १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।


अहिले सम्म २ हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाई भैईसकेको कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख सुजन अंगाईले बताउनुभयो । जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्छ ।

पछिल्ला वर्षमा श्रमशक्ति र रोपाइँका लागि गोरुको अभाव हुँदै आएको छ । गोरुको अभाव भएसँगै अधिकांश कृषकले पछिल्ला वर्षमा हाते ट्र्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएको कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख सुजन अंगाईले जनाकारी दिनुभयो ।

जिल्लाका किसानले सावित्री, रामधान,मकवानपुर १,राधा ४,सुख्खा ३ र केहि हाइव्रिड अन्तरगत यु। एस ३१२ र यु.एस.३०५ जातका धान लगाउँदै आइरहका छन् ।


स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका लागि सिँचाइ योजना बनाई बाह्रै महिना सिँचाइको सुविधा विस्तार गर्नसकेमा सिन्धुलीका अन्य फाँटमा पनि समयमै वर्षे धान रोप्न सकिने भएकाले सरकारले सिँचाइ सुविधा वृद्धिमा ध्यान दिन जरुरी रहेको कमलामाई नगरपालिका–५ का किसान सरोज कार्कीले बताउनुभयो । साथै स्थानीय सरकारबाट उन्नत जातको धानको बीउसँगै मलखादको व्यवस्था भए किसानलाई राहत हुने पनि कार्कीले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles