सिन्धुली- सिन्धुलीमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । “लागु औषध दुरुपयोग विरुद्धको ऐक्यबद्दता व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता“ भन्ने मुल नाराका साथ सप्ताहव्यापी रुपमा मनाइने यस बर्षको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को सुरुवातमा आज सिन्धुलीमाढीमा प्रभातफेरी र सडक नाटक कार्यक्रम गरिएको हो ।
माढीबजार स्थित माझीटार र धुरावजार बाट एकै साथ दुइवटा र्यालीले वजार क्षेत्र हुँदै कमलामाई नगरपालिका अगाडीको वाटिकामा संक्षिप्त सभा तथा सडक नाटक प्रदर्शन गरिएको छ । कार्यक्रममा उपस्थित सवैले लागू औषध प्रयोग नगर्ने सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका छन्भने सिन्धुली कलाघरका कलाकारहरुले लागू औषध दुर्व्यसनका परिणाम वारेमा सडक नाटक प्रस्तुत गरेका छन् । कार्यक्रममा लागू औषध दुरुपयोग विरुद्ध सचेतना जगाउने पर्चा, व्यानर, प्लेकार्ड प्रदर्शन गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेल, समन्वय समिति उपप्रमुख शान्ता कार्की, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, सामाजिक संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षाकर्मी, कर्मचारी, रेडक्रस सिन्धुली, नेपाल स्काउट, सामुदायीक एवं संस्थागत विद्यालयका विद्यार्थीहरु, पेशाकर्मी, व्यवसायी, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।