सिन्धुली – सिन्धुली अस्पताल चिकित्सक विहिन बनेको छ । अस्पतालमा कुनै पनि चिकित्सक नभेटेको सेवाग्राहिले गुनासो गरेका छन् । मंगलबार विहिना ११ बजे प्रसूति सेवा लिन पुग्नुभएको कमलामाई नगरपालिका ४ की सपना थापा प्रसूतिसेवाका कुनै पनि चिकित्सक नभेटेपछि घर फर्किनुभयो । उहाँले भन्नुहुन्छ, “अस्पतालमा कुनै पनि डाक्टर छैनन्, भएका डाक्टर पनि विदामा बसेका हुन् कि के हो ? डाक्टर आउँछन् कि भनेर १ घण्टा सम्म कुरे तर डाक्टर भेटिन ।”
कमलामाई नगरपालिका ६ की अप्सरा कार्कि भिडियो एक्सरेको लागि बर्दिबास पुगेको बताउनुभयो । सिन्धुली अस्पतालमा एक हप्ता सम्म धाउँदा समेत भिडियो एक्सरे नभएपछि उहाँ बर्दिबास पुगेको बताउनुहुन्छ । “सिन्धुली अस्पतालमै भिडियो एक्सरे हुन्थ्यो । तर त्यहाँ भिडियो एक्सरे गर्ने कर्मचारी विदामा छन् रे, एक हप्ता सम्म अस्पताल धाए । नभएपछि अन्तिममा बर्दिबास पुगेर भिडियो एक्सरे गरेर आए ।” उहाँले भन्नुभयो । अस्पतालमा चिकित्सक नभेटे पछि सेवाग्राहि आक्रोसित भएका छन् । “जिल्ला अस्पतालमा अहिले ६ उपचार गर्ने डाक्टर मात्रै छन् । ति पनि सबै विदामा बसेका छन् । विरामीहरु कोहि बर्दिबास त कोहि काठमाडौँ जान बाध्य छन् । प्रसूति जस्तो संवेदशील ठाउँमा एक जना पनि डाक्टर छैन । भिडियो एक्सरे गर्ने मेशिन छ, त्यसलाई संचालन गर्ने कर्मचारी १०– १५ दिन देखि बिदामा छन् । यसको जिम्मेवार निकाय को हो ?” एक स्थानियले भन्नुभयो ।
अस्पतालले सामान्य विरामीलाई पनि बर्दिबास, काठमाडौँ पठाउने गरेको स्थानियले गुनासो गरेका छन् । साथै अस्पताल भित्र सिटामोल समेत नपाउने गरेको उनीहरुको गुनासो छ ।