सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा टप्पुमा भारतीय नागरिकले चलाएको गोली लाागेर ६५ वर्षीय महेन्द्र पासवान घाइते हुनुभएको छ ।
हिजो बेलुका झण्डै साढे ६ बजेतिर पासवानको घरमै घुसेर एक भारतीय नागरिकले गोली हानेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पासवानको घुँडामा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो। गोली हान्ने व्यक्ति भागेका छन् । उनको खोजी भइरहेको छ ।
भारतीय सीमासँग जोडिएको यो गाउँमा पटक–पटक भैँसी चोरी हुने गरेको छ । चोरीको आरोपमा एक जना भारतीयलाई स्थानीय बासिन्दाले समाते पछि गोली प्रहार भएको बुझिएको छ ।