काठमाडौँ । भगवान् शिवको आराधना गरी फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसपालिको महाशिवरात्रि पर्वमा देश तथा विदेशबाट गरी करिब २० लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ ।
हिन्दु धर्मका चार रात्रिमध्येको एक रात्रि महाशिवरात्रि पर्वमा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको पशुपति नाथ मन्दिर परिसरमा वर्षेनी छिमेकी राष्ट्र भारत लगायत विश्वका अन्य मुलुकबाट समेत दर्शनार्थीहरु दर्शनका लागि आउने गर्दछन् ।
पशुपति क्षेत्रको रेखदेख र व्यवस्थापनको जिम्मेवारी पाएको पशुपति क्षेत्र विकास कोषले भक्तजनहरूका लागि सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
महाशिवरात्रि पर्वका लागि बत्ती तथा फूलहरूले मन्दिर परिसरलाई सिङार्ने लगायतका काम विगत १५ दिनदेखि नै गरिएको र सम्पुर्ण तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
उहाँले, यस वर्षको शिवरात्रिमा करिब २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान रहेको र भक्तजनको व्यवस्थापनका लागि मन्दिरको चारैतर्फका ढोकाहरू बिहान ३ बजेदेखि नै खुला राखिने पनि जानकारी दिनुभयो ।
विगतका दुई वर्ष कोभिड, डेङ्गुलगायतका महामारीले शिवरात्रि पर्व धुमधामका साथ मनाउन नसकिएको भन्दै यसवर्ष सकेसम्म व्यवस्थित र सुरक्षित बनाउन आफूहरू लागिपरेको कार्यकारी निर्देशक डा. खतिवडाको भनाई छ ।
शिवरात्रिका दिन कोषले दर्शनको सहज व्यवस्थापन गर्ने गरेको बताएपनि दर्शनार्थीहरुले भने सहज रुपमा दर्शन गर्न नपाएको गुनासो सुनिने गरेको छ ।
त्यस्तै भारतबाट आउने साधु सन्तहरूलाई रिझाउन नसक्दो सन्तहरूले कोषको व्यवस्थापकीय क्षमतामाथि नै प्रश्न उठाउने गरेको विगत छ ।
यसपाली यस्ता यावत गुनासाहरूको सम्बोधन गर्नेगरी काम गर्ने कोषले जनाएको छ ।
शिवरात्रिका दिन दर्शनार्थी तथा भक्तजनहरूको सुरक्षा तथा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी र त्यति नै सङ्ख्यामा स्वयं सेवकहरू खटाइने व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा. खतिवडाको भनाई छ ।
दर्शनार्थीको चाप व्यवस्थापनका लागि एयरपोर्ट, गौशाला चाबहिल क्षेत्रमा सडकको आधा भागमा मात्र सवारी साधन गुड्न दिने र आवश्यकता अनुसार सवारी डाइभर्सनको व्यवस्था मिलाउने कोषले जनाएको छ ।
हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको पशुपतिनाथमा वर्षेनी आउने दर्शनार्थी तथा पाहुँनाहरुको व्यवस्थापनमा विगतमा सुनिने गरेका गुनासा सम्बोधन हुने गरी कोषको भूमिका प्रभावकारी हुन सकोस् ।