काठमाण्डाै – तराई मधेसमा बाक्लो हुस्सुसँगै चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित भएको छ । केही दिनयता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले विपन्न परिवार बढी प्रभावित भएको छ । यो महिनाको पहिलो हप्ता हुस्सु हटेर घाम लाग्न थाले पनि केही समययता फेरि बाक्लो हुस्सु लाग्ने गरेको छ ।
दिनभरि जस्तो नै हुस्सु लाग्दा तराईमा चिसो बढेको छ । पश्चिम तराईका केही ठाउँमा दिउँसो घाम लाग्ने गरे पनि मध्य र पूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ । मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभावका कारण तराईका जिल्लासहित देशभर नै चिसो हावा चलिरहेको छ । उहाँका अनुसार तराई मधेसका जिल्लामा अबको केही दिन पनि मौसम यस्तै रहने अनुमान छ । केही दिन अझै पश्चिमी वायुको प्रभाव नै रहने भएकाले मौसम खुल्ने र घाम लाग्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।
बाक्लो हुस्सु लाग्न्ने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम मानिन्छ । यो अवधिमा हुस्सु कुहिरो लाग्नु र चिसो हावा चल्नुलाई सामान्य नै मान्नु पर्ने उहाँको भनाइ छ ।
तराई मधेस बाहेकका ठाउँमा भने भोलिदेखि मौसम सुधार हुने अनुमान छ । आज हिजो जस्तै पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । तर, तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।