सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट दोस्रो त्रैसासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सिटिजन्स बैंक हरिहरपुरगढी शाखासँगको सहकार्यमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । नागरिकलाइ सहज तथा सुविधा दिनका लागि वडा कार्यालयबाटै भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ब्रजध्वज वाइबाले बताउनुभयो । उहाँले भत्ता लिनका लागि घण्टौँ समय खर्च गरेर बैँक पुग्नु पर्ने बाध्यताको समाधान गरेको बताउनुभयो ।
वडा कार्यालयबाट भत्ता लिन पाएपछि स्थानिय खुसि भएका छन् । “बैँक पुग्न १ घण्टा भन्दा बढी समय लाग्थ्यो, भत्ता लिन जाँदा र आउँदा गर्दा ५ सय देखि १ हजार सम्म खर्च पनि हुन्थ्यो । अहिले नजिकै वडाकार्यालय बाट भत्ता पाए, खुसि छु ।” सामाजिक सुरक्षा भत्ता लिन आउनुभएको एक बृद्धले भन्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वाइबा, उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल , वडा नं १ का वडाध्यक्ष जित वहादुर थिङ ,वैकका कर्मचारीहरु लगायत गाउँपालिकाका कर्मचारीको उपस्थिति रहेको थियो । भत्ता वितरण कार्यक्रम सँगै निशुल्क स्वास्थ्य शिविर समेत सन्चालन गरिएको थियो ।