सिन्धुली – सुनकोशी गाउँपालिकाले पालिका क्षेत्रमा चल्ने सवारी साधनको लगत संकलन गर्ने भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै पालिका क्षेत्र भित्र चल्ने सवारी साधनको लगत राख्ने जनाएको हो । लगत राख्नका लागि गाउँपालिकाले सवारीसाधनको शुल्क समेत तोकेको छ । लगत राखिएका सवारी साधनले बार्षिक रुपमा नविकरण समेत गर्नुपर्ने छ । मोटसाइकल\स्कुटरलाई २० रुपैया, तिनपाङग्रे अटोलाई ५० रुपैया शुल्क तोकेको छ ।
यस्तै, जिप भ्यान तथा अटोलाई २५०, मिनि बस तथा ठुला सवारी साधनलाई १ हजार र ट्रक टिपर तथा हेवी इक्विपमेन्ट १ हजार ५ सय शुल्क तोकेको छ । दर्ता भएको सबै सवारी साधनले वार्षिक रुपमा सोहि शूल्क तिरेर नविकरण गर्नुपर्ने छ ।
गाउँपालिका भित्र कति सवारी साधन चल्छन् भन्ने जानकारी लिनका लागि सवारीसाधनको लगत संकलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । सवारीसाधनको लगत संकलन भएपछि नियमन गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ ।
यता स्थानियले भने यसको विरोध गरिरहेका छन् । चर्को पेट्रोलीयम मुल्य र स्थानिय सरकारले सवारीसाधनको शुल्क उठाउने गर्दा जनता मारमा परेको एक स्थानियले बताए । “हामीले वार्षिक रुपमा नेपाल सरकारलाई नविकरण तथा कर भने बुझाउछौँ । फेरि यता स्थानिय सरकारलाई पनि नविकरण शुल्क बुझाउदाँ हामी त धेरै मारमा पर्छाैँ । रोजगारीको ब्यबस्थापन गर्न नसक्ने बेरोजगार जनता माथी आर्थिक भार थप्ने स्थानिय सरकारको यस्तो निर्णय प्रति घोर आपत्ती छ।” उहाँले भन्नुभयो ।