सिन्धुली – कमलामाई नगरपालिका ६ पाटिट्याकिकि २० वर्षिय सोस्तिका विक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् । आइतबार राति कोठामा झुण्डिएको अवस्थामा परिवारले फेला पारेका हुन् ।

गत केहि दिन अगाडि सुनकोशी गाउँपालिकाकी १३ वर्षिय बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् ।
सिन्धुलीमा यसरी दैनिक झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । जिल्लामा हरेक ६ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङमा छ । चार महिनाको अवधिमा २० जनाले आत्महत्या गरेका छन् । १९ जनाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा सबै भन्दाबढी किशोरकिशोरी रहेको प्रहरीले जनाएको छ ।

आत्महत्याको प्रमुख कारण बेरोजगारी, प्रेम, सामाजिकसंजालको दुरुप्रयोग, देखासिकि लगाएत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । “बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफता, श्रीमान÷श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन् ।” उहाँले भन्नुभयो । साथै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने डिएसपि केसिले बताउनुभयो । “प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन् । प्रेमका कारण आत्महत्या हुनुका समेत दुई छिमल छन् । पहिलो, घरमा श्रीमती या श्रीमान् हुँदाहुँदै भएका विवाहइत्तर सम्बन्ध । दोस्रो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तै– जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूप धारण गर्न सक्दैन । र, उनीहरू आफूहरूको प्रेम अस्वीकार गर्ने समाजलाई आफैँलाई समाप्त पारेर दण्डित गरिरहेका छन् ।” उहाँले भन्नुभयो ।

सिन्धुली जिल्लामा नभइ देशभर नै आत्महत्याको समस्या रहेको उहाँको भनाइ छ । साथै उहाँले आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ यसले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।” उहाँले भन्नुभयो । आत्महत्या गर्नेहरु धेरै युवाअवस्थाका व्यक्तिहरु रहेको केसिले बताउनुभयो ।

शरीरमा थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा हुने जस्ता किसिमका लक्षण देखिए चिकित्सकहरुसँग परामर्श गर्नुपर्ने मनो चिकित्सकहरुले सुझाव दिएका छन् ।