सिन्धुली- सिन्धुलीका स्थानीय सरकारलाई प्रारम्भीक बालविकास र समावेशि अभिभावकत्व विषयक तीन दिने तालिम दिइएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सिड्स नेपाल सिन्धुलीद्धारा संचालित उज्यालो बाल्यकालका लागि समावेशी अभिभावकत्व परियोजना अन्तर्गत स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीलाई प्रारम्भीक बालविकास र समावेशि अभिभावकत्व विषयक तालिम दिइएको हो ।

कार्यक्रममा जिल्लाका तीन पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई समावेशी अभिभावकत्वले बालबालिकामा पुर्योउने सकारात्मक प्रभावको बारेमा जानकारी दिइएको थियो । तिनपाटन गाउँपालिकाको ७, ८, १०, ११, फिक्कल गाउँपालिकाको २, ३, ४, ५ र गोलन्जोर गाउँपालिकाको एक नम्बर वडामा परियोजना संचालनमा रहेको कार्यक्रम संयोजक सन्तोष थापाले बताउनुभयो । तालिममा सो परियोजना संचालन भएका पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र पालिका अन्तर्गतका शिक्षा, स्वास्थ्य र सामाजिक शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

तालिममा बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट सीप विकास, पालनपोषण, दिगो बन्धन र आत्मविश्वासी बनाउन समावेशि अभिभाकत्वले खेल्ने भुमिकाबारेमा जानकारी गराइएको थियो । साथै, स्थानिय सरकारले बालविकास केन्द्रबाट व्यवहारीक शिक्षा दिन अपनाउनपर्नुे तरिकाबारे समेत जानकारी गराइएको संयोजक थापाले बताउनुभयो ।‘बालबालिकाहरुको चाहना अनुसार खेल मार्फत उनीहरुलाई कुन–कुन क्षेत्रमा विकास गर्न सकिन्छ ?, त्यस अनुसार आगामी दिनमा पालिकाले बजेट निर्माण गर्दा तालिममा सिकेका सिपहरु मार्गदशक बन्न सक्ने छ । ’ उहाँले भन्नुभयो । संयोजक थापाका अनुसार उज्यालो बाल्यकालका लागि समावेशी अभिभावकत्व परियोजना अन्तर्गत हरेक पालिकामा १२÷१२ वटा गरि जम्मा ३६ वटा समुह छ । स्याहारकर्ता तथा अभिभावको समृुहमा ‘गो बेबि गो’ कक्षा मार्फत बालबालिकाको बृद्धि र विकास कसरी भएको छ भनेर १० वटा सुचाकंको हरेक महिनाको १५÷१५ दिनमा कक्षा संचालन भइरहेको उहाँले बताउनुभयो । साथै कक्षामा पढाएका कुरा व्यवहारमा लागुभएको छ कि छैन भन्ने समेत अनुगमन हुने गरेको छ ।
कार्यक्रममा तिनपाटन गाउँपालिकाको अध्यक्ष कर्ण बहादुर मगर, सिड्स नेपाल सिन्धुलीका उपाध्यक्ष हरि कृष्ण थापा, सचिव भक्तहरि घिमिरे, कार्यक्रम प्रबन्धक बालमुकुन्द महत, तिनपाटन र गोलन्जोरका उपाध्यक्ष, वडाअध्यक्ष, पालिकाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।