सिन्धुली – परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई नगरपालिका २ भद्रकालीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । महिलाहरुद्धारा संचालित सहकारीको १२ औ बार्षिक साधारण सभा विहिबार सम्पन्न भएको हो । सहकारी संस्थामा ७ सय ७४ जना महिला बचत कर्ता रहेका छन् । संस्थाको ३ करोड १८ लाख ४२ हजार १ सय ८८ रुपैया ६२ पैसाको कारोबार रहेको छ ।
कार्यक्रमको अवसरमा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले गाउँगाउँमा सानोसानो रकम जम्मा गरि संचालन गरिएका यस्ता सहकारी संस्थाहरुले हरेक नागरिकको आर्थिक आर्यआर्जनमा सहकारीले पहँुच बढाएको बताउनुभयो । महिलाले संचालन गरेको उक्त सहकारीलाई ब्यवस्थित गर्न र आवश्यक परेको सहयोग गर्न नगरपालिका सधै प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सहकारीमा बचत मात्रै गर्ने नभई उत्पादन, आयस्रोत र स्वरोजगारीको लागि समेत सहकारीको रकम प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सहकारी संचालनको लागि गोष्ठी, तालिम लगायतका कार्यक्रमको आयोजना गरिने समेत उहाँको भनाई छ ।
कार्यक्रममा कमलामाई नगरपालिका २ का वडा अध्यक्ष इन्द्र वाइवाले सहकारी संचालनमा सहयोग गर्दै आएको र भौतिक संरचना लगायतका काममा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा संस्थाको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाता दुध बहादुर पाख्रीन, पूर्व अध्यक्ष सावित्रा पाटा मगर, उत्कृष्ट कर्मचारी भव माया फूयाल र संस्थामा ७० बर्ष पुगेका सेयर सदस्यहरुलाई सम्मान गरिएको छ । संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो ।