सिन्धुली– कमलामाई नगरपालिकामा उन्नत जातको ८१ वटा होलस्टिन गाई ल्याइने भएको छ । ८१ वटा होलस्टिन गाई लाई कमलामाई नगरपालिकामा ल्याउन कृषि तथा पशुपञ्छि बिकास मन्त्रालयका सचिव दिपककुमार खरेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल बिच मन्त्रालयमा अन्तिम छलफल भएको छ ।
दक्षिण कोरिया सरकारको अनुदान सहयोगमा प्राप्त हुने ६ देखि ८ महिनाका कोरली होलस्टिन बाच्छीहरु कमलामाई नगरपालिका ५ का ८१ जना किसानले प्राप्त गर्नेछन् । उक्त गाईका बाच्छिहरुबाट १७ महिना भित्रमा नगरका किसानले दुग्ध उत्पादन, ब्यवस्थित र जिम्मेवारयुक्त पशुपालन गर्ने तरिका र आय आर्जनमा गौरव महशुस गर्ने कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले बताउनुभयो ।
नेपाल सरकार कृषि तथा पशुपंक्षि मन्त्रालय, हेफर इन्टरनेशनल र हेफर नेपालले वडा नं. ५ मा गाई पालनको लागि अनुन्धान गरेकाले वडा नं. ५ मा नगरपालिकाको सहयोगमा उक्त गाई राख्नको लागि ब्यवस्थीत गोठ निर्माण भइसकेको नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
बैठकमा नगर प्रमुख पोखरेलले यो परियोजनालाई देशकै नमुना कार्यक्रम बनाई कमलामाई नगरपालिका ५ लाई गाईपालनको क्षेत्रबाट खास क्षेत्रको रुपमा परचित गराउन लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । साथै उपलब्ध गाईहरुबाट आयस्रोत बढाउदै नगरपालिकालाई दुध उत्पादनमा नमुनाको रुपमा बिकास गर्ने समेत उहाँले बताउनुभयो ।
कोरिया सरकारबाट प्राप्त यी ८१ वटा कोरली होलस्टिन बाच्छीहरु पुस ९ गते खुमलटारबाट मन्त्रालयका सचिब र कोरियन राजदुत संयुक्तबाट हस्तान्तरण हुनेछ ।