सिन्धुली – सिन्धुलीमा अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ । सुक्रबार कमलामाई नगरपालिका ५ मा रहेको जनज्योती माबि फोस्रेटारमा पढ्दै आएका बौद्धिक अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामाग्री र कनपा ६ मा रहेको नवज्योती बहिरा माबि जसेदारका विद्यार्थीहरुलाई आवासमा सुत्न प्रयोग हुने सिरक, डस्ना, सिरानी १५ थान र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
३१ औँ अन्तरािष्ट्रय अपाङ्गता दिवसको अवसरमा मानव तथा राष्ट्रिय विकास समाज, (हेन्ड्स) नेपाल सिन्धुली, प्लान ईन्टरनेशनलको साझेदारी, सिन्धुली बहिरा संघ, सिन्धुली अपाङ्ग महिला संघको संयोजन र कमलामाई नगरपालिकाको आयोजनामा बालबालिकाहरुलाई शैक्षिक सामाग्री र कपडा वितरण गरिएको हो ।
एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले उक्त सामाग्रीहरु दुवै विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । सहयोग सामाग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय सिन्धुलीका उपप्रमुख कार्कीले स्थानिय तहहरुले आफ्नो पालिकामा रहेका अपाङ्ग नागरिकको समस्या हल गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै कमलामाई नगरपालिकाका उपप्रमुख देवकोटाले अपाङ्ग बालबालिका तथा नागरिकहरुको सहयोग र संरक्षणका सवालमा नगरपालिकाले सधै ध्यान दिइरहेको बताउनुभयो ।