सिन्धुली – जिल्लामा महिला घरेलु हिंसाका घटना बढेको छ । तिन महिनाको अवधिमा ३२ वटा घरेलु हिंसाका उजुरी परेको छ ।
ति उजुरी मध्ये २४ वटा मिलापत्र भएका छन् भने ३ वटा अदालत पक्रियामा गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । ५ वटा फर्छ्योट गर्ने बाकिँ रहेको छ ।
घरेलु हिंसाअन्तर्गत शारीरिक, मानसिक, यौनिक र आर्थिकजस्ता यातनाका विरुद्ध धेरै उजुरी परेका प्रनाउ केसिले बताउनुभयो ।
यद्यपि, गाउँगाउँमा यस्ता घरेलु हिंसाका घटना भए पनि पीडित अझै प्रहरीसमक्ष पुग्न नसकेको महिलाअधिकारकर्मी बताउछन् ।
पीडित प्रहरीसमक्ष पुग्न नसक्ने र पुगिहाले फेरि परिवारमा फर्कन नसक्ने डरले अझै धेरै महिला घरेलु हिंसाको सिकार भएरै बसिरहेको उनीहरुको भनाइ छ । प्रहरीले घरेलु र अन्य आपराधिक घटना कम गराउन जिल्लामा जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको प्रनाउ केसिले जानकारी दिनुभयो ।
घरेलु हिंसा तथा महिला हिंसा, मानवअधिकार संरक्षण र पालना, मानव बेचविखन रोकथाम, बाल विवाह तथा बहुविवाह रोकथाम, बोक्सी कुप्रथाविरुद्धको अभियान, दाइजो प्रथा, लागूऔषध दुर्व्यसनी तथा यौन शोषणलगायत धेरै विषयमा जनचेतना फैलाउन कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।