सिन्धुली – कमलामाई नगरपालिका वडा नम्बर ४ ढकालगाउँका विशम्बर लामिछानेको घरमा पुग्दा सयौँ जर्बुट्टा कला देख्न सकिन्छ । वि.सं.२०४८ सालमा आफ्नो घर जाने मोटर बाटो खन्दा भेटिएको जरालाई अरुले काम नलाग्ने देखे पनि लामिछानेले भने जरायोको सिङ जस्तै देखे । त्यसलाई काटछाट र रंग रोगन गरेर जरायोको सिङ जस्तै आकृति दिए । त्यसपछि आफूले जर्बुट्टा कलालाई निरन्तरता दिएको लामिछाने सुनाए ।
कलाकारिताको क्षेत्रमा ढलौड, सुन, चादीका मूर्तिहरु, विभिन्न सामाग्रीको प्रयोग गरी अनेकौ कला बने पनि रुखको जराबाट भने पहिलो पटक आफूले नै जर्बुट्टाकला बनाएको लामिछाने दावि गर्छन् । कलाको क्षेत्रमा नयाँ आयम थप्नका लागि जर्बुटा कलालाई निरन्तरता दिएको लामिछाने बताउँछन् । नेपालमा मात्र हैन विश्वमा समेत एउटै व्यक्तिले अडाई तिन सय वटा जर्बुटा कला सञ्चालन गरेको छ भन्नेमा आफूलाई विश्वास नलाग्ने उनले बताए ।
अधिकांशले आफ्नो कलाको माध्यमबाट जिविको–पार्जन गरिरहे पनि लामिछाने भने आफू रहेसम्म जर्बुट्टा कला विक्री नगर्ने बताए । यो कलामा एक पिस कला बनिसकेपछि अर्को पिस कला बन्नै नसक्ने लामिछाने बताउँछन् । त्यसैले यसलाई पुस्तान्तरण गर्न नसकिने उनको भनाई छ । लामिछाने भने, “ यो कलामा अर्कोलाई सिकाउन सकिने अवस्था नहुने रहेछ ।
दिमाखले नै कला देख्नुपर्छ, अन्यथा मैले कला देखेको जरालाई अरुले काम नलाग्ने दाउरा मात्र देख्छन् भने उनीहरुलाई कला देख ,देख्नै पर्छ भनेर सिकाउन नसकिने रहेछ ।” बिशम्बर लामिछानेद्धारा निर्मित जर्बुटा कला संग्राहलयको ३७ देशका ३३ लाख भन्दा बढि पर्यटकहरुले अवलोकन गरिसकेको उनले बताए ।
लामिछाने आफ्नो शेख पछि जर्बुटा कला संग्राहलय सरकारलाई सुम्पने र त्यसको सरकारले संरक्षण गर्नुपर्ने धारणा राखे । पेशाले कानुन व्यवसाय समेत रहेका विशम्बर लामिछानेद्धारा निर्मित जबुट्टा कला संग्राहलयमा बुद्धको जन्म, नारी बन्धन र मुक्ति, पासाङ ल्हामू र तेञ्जिङ नोर्केले हिमाल चढेको, हामी एक हौं, नेपालको राष्ट्रिय चरा डाँफे, आदि मानव, पृथ्वीनारायण शाह जस्तै देखिने आकृति लगाएतका अन्य धेरै जर्बुट्टा कला देख्न सकिन्छ ।