सिन्धुली – सिन्धुलीका मतदाताले यस पटकको निर्वाचनमा नयाँ अनुहारलाई रोजेका छन्। दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको सिन्धुलीमा गठबन्धन तर्फकै सबै उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेलाई क्लि स्विप बनाएको गठबन्धनबाट निर्वाचित सबै नयाँ अनुहार हुन् ।

प्रतिनिधि सभा सिन्धुली क्षेत्र नम्बर १ का नवनिर्वाचित श्यामकुमार घिमिरे पहिलो पटक संघिय सांसद बन्नुभएको छ । घिमिरेले ३० हजार ३ सय ९१ मत पाएर विजयी हुनुभएको हो । यस अघिको २०७४ सालको निर्वाचनमा सिन्धुलीको क्षेत्र नम्बर १ को प्रदेश २ मा हाल पराजित भएका कटुवाललेनै घिमिरेलाई पराजित गरेका थिए । प्रदेशमा हार ब्यहोरेका घिमिरेले तिनै कटुवाललाई संघमा हराएर आफु जित्न सफल हुनुभएको छ । तीन कार्यकालदेखि कांग्रेसको केन्द्रिय सदस्य रहेका घिमिरे जित भएसँगै पुर्वधार विकासमा जोड दिने बताउनुभयो । पुर्वधार विकास मेरो पहिलो प्राथमिकता रहन्छ, उहाँले भन्नुभयो, सडक पुर्वधार शिक्षा स्वास्थ्यमा जोड दिन्छु।

सिन्धुलीको क्षेत्र नंम्बर २ बाट निर्वाचित भएका लेखनाथ दाहाल प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुनुहुन्छ । यसअगाडी २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश १ मा निर्वाचित भएका दाहाले यस पटक प्रतिनिधि सभा निर्वाचनमा २७ हजार ५ सय १७ मत प्राप्त गरि विजयी हुनुभएको हो । देसभरबाटै माओवादी केन्द्रबाट खाता खोल्नेमा लेखनाथ पहिलो हुनुभएको थियो । विद्यार्थी जीवनकालबाट राजनीति सुरु गरेका लेखनाथ माओवादी जनयूद्धकाक्रममा ४ वर्ष जेल जीवन विताएर शान्ति प्रकृया आएपछि केही समय रामेछापमा राजनीति गरेका दाहालको घर सिन्धुलीको सुनकोसी गाउपालिका ५ नाङ्गेडाडामा छ ।

प्रतिनिधि सभाको पहिलो यात्रा तय गरेका दाहाल जनताको अपेक्षा अनुसारको विकास गर्दै जाने बताउनुहुन्छ । सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा सिन्धुली क्षेत्र नम्बर १ मा काँग्रेस र २ मा माओवादी विजयी भएको छ भने चारओटै प्रदेश सभामा सत्ता गठबन्धननै विजयी भएको छ। प्रदेश सभा तर्फ सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश १ मा नेकपा माओवादीका मातृका प्रसाद भट्टराई विजयी हुनुभएको छ । उनको जनताबाट अनुमोदित यात्रा पहिलो हो।

सोही क्षेत्रको प्रदेश सभा २ मा नेपाली काँग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ । मतदाताको रोजाईमा परेका उहाँ पनि नयाँ अनुहारनै हुनुहुन्छ । २०४९ सालमा भएको स्थानिय निर्वाचनमा सिन्धुलीको खाङसाङ गाविसको वडाअध्यक्ष भएका पहाडी तीन दशपछि जनताको रोजाईमा आफु परेको बताउनुहुन्छ ।
यसैगरि सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश १ मा निर्वाचित भएका छेत्रबहादुर बम्जनको प्रदेश सभाका लागि नयाँ आगमन हो। यस्तै प्रतिनिधि सभा सिन्धुली २ को प्रदेश २ मा नेकपा माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडाबाट डा.बाबुराम भट्टराई नेतृत्वको समाजबादी पार्टीका उपाध्यक्ष गंगा नारायण श्रेष्ठले जित्नुभएको छ। श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई पराजित गर्दै प्रदेशको संसदिय यात्रा तय गर्न सफल हुनुभएको हो । २०७० सालमा सिन्धुली क्षेत्र नम्बर २ बाट कांग्रेसका मोहनप्रसाद बरालसँगै दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका श्रेष्ठको जनताबाट अनुमोदिन हुने यो पहिलो अवसर भएको छ। सिन्धुलीबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सबै उम्मेदवार गठबन्धन तर्फकै हुनुहुन्छ ।