काठमाण्डौ – तीव्र गतिमा गाडी चलाउने चालकले अब अनिवार्यरूपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज शुक्रवार पत्रकार सम्मेलन गरी आउँदो मङ्सिर १५ गतेदेखि तीव्र गतिमा गाडी चलाउने चालकले अनिवार्यरूपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा गाडी चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिनुभयो । ‘काठमाण्डौ उपत्यकामा हुने धेरै सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ, उपत्यकाभित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यो अभियान सञ्चालन गर्न लागेका हौँ’, उहाँले भन्नुभयो ।
ट्राफिक प्रहरीले यसअघि जाँड–रक्सी खाएर गाडी चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ती क्रस गर्नेलाई मात्रै सचेतना कक्षा लिँदै आएको थियो ।
काठमाण्डौ उपत्यकामा आव २०७८–०७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।
प्रवक्ता भट्टले चालु आवमा सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठिक नभएका ३ सय ५२ वटा गाडीलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताउनुभयो । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको छ । उहाँले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउने १ सय ७० चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । जसमध्ये जाँड–रक्सी खाएर गाडी चलाउने ३७ जना चालक रहेका छन् ।