सिन्धुली – उम्मेद्वारहरू एक चरणको घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रीत हुन थालेका छन् । नागरिक भने उम्मेदवारसँग जनजीविकासँग सम्बन्धीत मागहरू राखिरहेका छन् ।
घरदैलोमा धाइरहेका उम्मेदवारहरूले सामान्यदेखि विकास निर्माणका ठूलठूला आश्वासन दिइरहेका छन् । तर नागरिकले उम्मेदवारसँग राख्ने अपेक्षा, विकास निर्माणका ठूला आयोजनाभन्दा दैनिक जीवनयापनका क्रममा जोडिने स–साना योजना माग गर्ने गरेका छन् ।
कमलामाई नगरपालिका २ भद्रकालीका सन्तोष शर्माले मलबीउ, सिँचाई कुलोको सुविधा लगाएतका योजना ल्याउने उम्मेदवारलाई मत दिने बताउनुभयो । किसान उम्मेदवारबाट किसानमैत्री नीतिको अपेक्षामा छन् । गुणस्तरीय शिक्षा, सिपमुलक तालिम, आयआर्जनमुलक सीप र रोजगारीको अपेक्षामा युवाहरू छन् ।
जिल्लामा पछिल्ला केही वर्षयता पर्यटन व्यवसाय फस्टाइरहेको छ । साहसिक पर्यटनलाई अझै व्यवस्थित बनाउने गरि योजना र कानुन बनाउन प्रतिवद्धता जनाउने उम्मेदवार कतिपयको रोजाइमा छन् । फरक फरक मतदाता र समुदायको आवश्यकता फरकफरक भएजस्तो माग पनि भिन्नभिन्न छ ।
तर समग्रमा दैनिक जनजीवनमा आवश्यक पर्ने, पानी, सरसफाइ, स्वास्थ्य, शिक्षा, बाटो, पुल पुलेसा लगाएतको सहजता नागरिकको मुख्य माग छ ।