सिन्धुली – सिन्धुलीका मजदुरले रोजगारीका लागि गाउँ छोड्नुपर्ने बाध्यता अन्त्य गर्न माग गरेका छन् । रोजगारीको खोजीमा गाउँ छोडेर सहर पसेका उनीहरू मतदान गर्न आफ्नै गाउँ फर्किने सोचमा छन् । तर निर्वाचित भएपछि पनि आफूहरूलाई गाउँमै बस्ने वातावरण बनाइदिन उनीहरूको माग छ ।

हाल प्रदेश, प्रतिनिधिसभा सदस्यका उम्मेदवार आफ्नो पक्षमा जित हात पार्न विभिन्न आश्वासन दिरहेका छन् । सडक, पानी, बिजुली र पुर्वाधार निर्माणको मुख्य एजेण्डा बनाएर उम्मेदवार मतदाताको घरघर पुगेका छन् ।

तर मजदुर भने गाउँमै रोजागारीको सिर्जना गर्न सहयोग गर्ने उम्मेदवारलाई मत दिने बताउँदै आएका छन् । कमलामाई नगरपालिका ४ का सविन कार्कि कामको सिलसिलामा काठमाडौँ पुग्नुभएको छ । ज्याला मजदुरी गर्ने कार्कि गाउँमै काम पाए केहि पैसा बचत हुने बताउनुहुन्छ । “गाउँमा काम पाए केहि पैसा बचत हुन्थ्यो । यहाँ त खाजा, खाना र बस्नका लागि नै कमाएको सबै पैसा सकिन्छ ।” उहाँले भन्नुभयो ।
उहाँ आगामी मंसिर ४ गते भोट हाल्नका लागि गाउँ आउने तयारीमा हुनुहुन्छ । आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्नेलाई भोट दिने उहाँले बताउनुभयो ।

यस्तै, ज्याला मजदुरीको काम गर्दै आउनुभएको सुनकोशी गाउँपालिका २ का रमेश विकले आफुहरुलाई सम्बोधन गर्ने नीति, नियम ल्याउनुपर्ने उहाँले बताउनुभयो । “मेरो यो पटकको मत मजदुरलाई समेट्न सक्ने, स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना बनाएका उम्मेदवारलाई दिने छ ।” उहाँले भन्नुभयो ।

रोजगार र आम्दानी नभएपछि गाउँबाट सहर पसेका श्रमिकलाई मङ्सिर ४ को चुनावले छोएको छ । तर जुन कारणले उनीहरूले गाउँ छोडे, त्यसको समाधान अहिलेसम्म नभएकोमा भने आक्रोश र निरासा पाइन्छ । सहरका सडकमा निधारमा नाम्लो कसेर गुजारा चलाईरहेकाहरू सकभर गाउँमै फर्किन चाहन्छन् । आफ्नो भोटबाट जितेर आउनेहरूले रोजगारी दिन्छन् भन्ने आशको साथ उनीहरु मत हाल्न गाउँ फर्किदै छन् ।