सिन्धुली -नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठको रौनक सुरु भएको छ । पछिल्लो समय छठ मनाउनेहरूको संख्या बढे संगै सिन्धुलीमा पनि छठको रौनक बढ्दै गएको छ ।
जिल्लाको ग्वाङखोला किनारा लगाएत विभिन्न खोला नजिकको किनारामा छठ मनाइने गरिन्छ । अहिले श्रद्धालुभक्तजनहरूले पोखरी, नदी तथा विभिन्न जलायशहरु सजाउने गरिसकेका छन् । छठका लागि खोला, पोखरी किनारामा दुल्हीझैँ सिंगारिएको छ ।
कमलामाई नगरपालिका ५ मघुटार स्थित ग्वाङखोला किनारमा छठको लागि घाट निर्माण कार्य गरिएको छ । खोला किनारमा करिव चार सयभन्दा बढी व्यक्ति एक साथ छठ पर्व मनाउने गरेको गर्दछन् ।
छठ पूजाका लागि जिल्लाका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामिण क्षेत्रमा अधिकाश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ ।
आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो ।
कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ ।
सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् ।