सिन्धुली – कर्मचारी मिलन केन्द्र सिन्धुलीले अनाथ विद्यार्थीलाई स्टेशनरी तथा खाद्यन्न सामाग्री बितरण गरेको छ । १९ औ निजामति सेवा दिवसको अवसरमा कनपा ५ मा रहेको नगरआवासीय विद्यालयका १७ जनालाई १५ हजार बराबरको स्टेशनरी तथा खाद्यन्न सामाग्री बितरण गरेको हो ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्र सिन्धुलीका अध्यक्ष तथा डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले व्यक्तिगत तर्फबाट विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई १० हजार बराबरको खाद्यान्न सामाग्री बितरण गर्नु भएको थियो ।
यस्तै, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पनि व्यक्तिगत तर्फबाट १७ हजार र जलस्रोत तथा सिचाई डिभिजन सिन्धुलीका प्रमुख यादव सिक्देलले १० हजार नगद सहयोग गर्नु भएको श्री कमला जनज्योति मा.वि.सिलामेका शिक्षक नन्दलाल श्रेष्ठले जानकारी दिनु भयो । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नगरआवासीय विद्यालय संचालनमा आएको हो ।
कर्मचारी मिलन केन्द्र सिन्धुलीका अध्यक्ष तथा डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायत सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।