सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागी भुक्तानी शिविर सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८-७९ मा सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता वापतको रकम लाभग्राहीहरुको खातामा जम्मा भईसकेकोले प्राईम कमर्सियल बैङ्क र गाउँपालिकाको समन्वयनमा ५ वटा वडामा भुक्तानी शिविर सञ्चालन गरि भत्ता वितरण गरिने गाउँपालिकाले शुक्रबार एक सुचना निकालेर जानकारी दिएको हो ।
गाउँपालिकाका अनुसार साउन ९ र १० गते ६ नम्बर वडा कार्यालय रत्नावती, १० र ११ गते १ नम्बर वडा कार्यालय महादेवडाँडा, १५ र १६ गते ३ नम्बर वडा कार्यालय खोलागाउँ, १७ र १८ गते २ नम्बर वडा कार्यालय पोखरी र १९ देखि २२ गतेसम्म ५ नम्बर वडा कार्यालय सोल्पाठानामा सामाजिक सुरक्षा भत्ता वितरणका लागी भुक्तानी शिविर संचालन गरिने भएकाले नागरिकताको प्रतिलिपि तथा बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ताको परिचयपत्र र हालसालै खिचिएको रंगिन पासपोर्ट साईजको २ प्रति फोटो लिई आफ्नो वडामा उपस्थिति हुन गाउँपालिकाले सबै लाभग्राहीहरुलाई सुचना मार्फत अनुरोध गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मा भने बैङक नजिकै भएकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागी भुक्तानी शिविर सञ्चालन नगरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एम. आई. एस अपरेटर रमेश बहादुर सार्कीले बताउँनु भयो ।