Thursday, October 3, 2024

सिन्धुलीमा कलिलो उमेरमा आमा बन्ने बढ्दै

सिन्धुली – कमलामाई नगरपालिका ४ की १९ वर्षिय कमला परियार तिन सन्तानका आमा हुन् । उहाँको २ वर्षको छोरा, ४ वर्ष र १ वर्षकी छोरी छिन् । १४ वर्षको उमेरमा कमलाले भागि विवाह गर्नुभएको हो ।

बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व भएको खानेकुरा खुवाउने–खाने तरिका र सरसफाइ सम्बन्धमा राम्रो जानकारी नहुँदै ३ सन्तान हुर्काउदै हुनुहुन्छ । १९ वर्षमै तीन वटा सन्तान होला भन्ने कमलाले सोच्नु भएको थिएन् । हामीलाई सल्लाह दिने पनि कोही भएनन् । “जे हुन्थ्यो भइहाल्यो, हामी अहिले खुसी छौँ । अब उनीहरूलाई राम्रो लालन पालन र शिक्षा दिने हाम्रो कर्म हो ।” माइती नजिकै भएकाले सन्तान हुर्काउन केही सजिलो भएको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिका–३ चपौलीकी १९ वर्षीय अस्मिता नेपाली पनि काखमा बच्चा हुर्काउँदै हुनुहुन्छ । १६ वर्षमै विवाह गरी १७ वर्षमा बच्चा जन्माएको अस्मिताले सुनाउनुभयो । सानैमा भागेर विवाह गरेकी अस्मितालाई बेलाबेलामा स्वास्थ्यमा गम्भीर समस्या पनि देखिने गरेको छ । १७ वर्षको उमेरमा आमा बनेकी अस्मिता भन्नुहुन्छ्, “पहिला थाहा भएन सानै उमेरमा भागेर विवाह गरियो । अहिले महिनावारी समयमा नि हुन्न, डाक्टरले भने अनुसार पाठेघरमा समस्या देखिएको छ ।”

शारीरिक रूपमा परिपक्व नभई आमा बन्ने कमला र अस्मिता मात्र होइनन् । जिल्लामा कम उमेरमा आमा बन्नेको सङ्ख्या धेरै छ । जिल्ला अस्पताल सिन्धुलीको तथ्याङ्कमा पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढ्दो रहेको देखिन्छ । सिन्धुली जिल्ला अस्पतालमा ११ महिना अवधिमा कम उमेरमा ९० जनाले प्रसूति लिएका छन् ।

आर्थिक वर्ष २०७८-०७९ मा २० वर्ष भन्दा कम उमेरका ९० जनाले प्रसूति लिएका हुन् । प्रसूति लिनेको संख्या सबै भन्दा बढी साउन महिनामा छ । साउन महिनामा मात्र १४ जना १४ देखि २० वर्ष उमेर समुहका किशोरीले प्रसूति लिएका छन् । यस्तै भदौ र असोजमा १३–१३ जनाले प्रसूति सेवा लिएका छन् । कार्तिकमा ६, मंसिरमा ७, पुषमा ५, माघमा ४, फागुनमा ७, चेत्रमा ११, बैसाख र जेठमा ५–५ जनाले प्रसूति सेवा लिएको सिन्धुली अस्पतालले जनाएको छ ।

कम उमेरमा आमा बन्दा आमा र बच्चाको ज्यान जोखिम हुने जिल्ला चिकित्सकले बताउछन् । २० वर्ष भन्दा अगाडी शरीर पूर्ण रूपले विकास भई नसकेको कारण बच्चा सानो जन्मिने, बच्चाको मानसिक विकास नहुने,रगत धेरै बग्ने लगाएको समस्या आउने सिन्धुली अस्पतालका मेडिक सुपरिटेन्डेन डा उमेश प्रधान बताउनुहुन्छ ।

उहाँका अनुसार प्रजनन अङ्ग र पाठेघरको पूर्ण रूपमा विकास भई नसक्ने भएकाले कम उमेरमा आमा बन्दा पाठेघरलाई अड्याइ राख्ने मांसपेशी कमजोर भई कतिपयको पाठेघर नै झर्ने पनि हुन्छ ।

विभिन्न निकायबाट वर्षौँदेखि बालविवाह रोक्न पहल भइरहे पनि बालिकाहरू आमा बन्दा पनि धेरैलाई चासो छैन । अशिक्षा, चेतनाको कमी, प्रविधि र गरिबिको कारण पनि जिल्लामा बालविवाह बढेको देखिन्छ । किशोर किशोरी चाँडै निर्णय लिन तत्पर हुने स्वभावका हुन्छन् ।

यो उमेरमा राम्रो शिक्षा र अभिभावकको रेखदेख नहुँदा उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । सरकारले गाउँ गाउँमा शिक्षा र सचेतना पु¥याउने नीति लिए पनि अहिलेसम्म बालविवाह घटेको छैन ।

spot_img

Hot Topics

Related Articles