सिन्धुली – शान्ति सुरक्षाको पक्षमा सिन्धुलीले राम्रो स्थान लिएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य बताउनुभयो ।

विहिबार जिल्ला भ्रमणको क्रममा सिन्धुली आइपुग्न भएको डिआइजी बज्राचार्यले यस्तो बताउनुभएको हो । “विगतका कामलाई हेर्ने हो भने, जिल्लाले हातहतियार बरामद, लागुऔषध ओसारपोसार गर्नेलाई पक्राउ गर्ने, फरार अपराधी पक्राउ गर्ने अन्य तस्करी नियन्त्रण लगाएत उल्लेखनिय काम गरेको छ ।
शान्ति सुरक्षाको पक्षमा यस जिल्लाले राम्रो स्थान लिएको छ ।” उहाँले भन्नुभयो । उहाँले समयमै घटना स्थलमा पुग्ने, योनजन्य, महिला, बालबालिका र जेष्ठ नागरिकको घटनामा सम्वेदनशील साथै प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभयो ।

होटल रेष्टुरेन्ट तथा मिटरब्याजी गरेर गुण्डागर्दी गर्नेलाई निगरानी गरिरहेको डिआइजी बज्राचार्य बताउनुहुन्छ । “गुण्डागर्दी गर्ने, मिटरब्याजीहरुलाई निगरानी गरिरहेका छौँ, यसलाई नियन्त्रण गर्न विषेश प्राथमिकतामा राखेका छौँ ।” उहाँले भन्नुभयो ।
मदिरा सेवन गरि समाजमा अशान्ति गर्ने र विकृति फैलाउनेलाई प्रहरीले विशेष निगरानी गरि कारवाही गर्ने उहाँको भनाई छ । समुदाय प्रहरी साझेदार कार्यक्रम गरि प्रहरीले लागुऔषध दुव्यसनी, साइबर क्राइम, टाफिक व्यवस्थापन र महिला बालबालिकाका विषयमा फोकस गरेर समुदाय प्रहरी साझेदार कार्यक्रम भइरहेको डिआइजी बज्राचार्यले जानकारी दिनुभयो ।

पुलिस टिचर कार्यक्रम सञ्चालन गरि प्रहरीले तयार गरेको पाठ्यक्रम विभिन्न विद्यालयमा लागु गरि प्रहरी शिक्षक भएर विद्यार्थीलाई जनचेतनामुलक शिक्षा दिन लागेको समेत उहाँले बताउनुभयो ।
उहाँले बागमती प्रदेशको महत्वपूर्ण जिल्ला साथै दुइ नम्बर प्रदेशको प्रवेशद्धार रहेको सिन्धुलीमा शान्ति सुरक्षालाई चुस्तदुस्त बनाउन सम्पूर्ण लागि पर्नुपर्ने बताउनुभयो ।