सिन्धुली– जनस्तरबाट सामुदायिक रूपमा सञ्चालित सिन्धुलीका विभिन्न क्याम्पसले एक करोड ४९ लाख १४ हजार अनुदान पाएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले सो अनुदान उपलब्ध गराएको हो ।

सामुदायिक क्याम्पसहरुलाई आर्थिक वर्ष २०७८-०७९ को नियमित अनुदान तर्फ जिल्लाका ११ वटा क्याम्पसले अनुदान पाएका हुन् । अनुदान प्राप्त गर्नेमा सबैभन्दा बढि सिन्धुली बहुमुखि क्याम्पसले १९ लाख ७५ हजार पाएको छ ।

त्यस्तै, लाम्पानटार बहुमुखि क्याम्पसले १८ लाख ३५ हजार, भिमज्योति क्याम्पस, भिमेश्वर, खुर्कोटले ९ लाख १० हजार, जनजागृति क्याप्स, भिमानले १० लाख १० हजार, कमला बहुुमुखि क्याम्पस, दुधौलीले १६ लाख ९५ हजार, मरिण बहुमुखि क्याम्पस, छाप महेश्वताले ९ लाख ४४ हजार दुई सय, सरस्वती क्याम्पस डकाहाले १४ लाख १५ हजार, सिद्धज्योति शिक्षा क्याम्पस, फोश्रेटारले १४ लाख १५ हजार, तिनपाट शिक्षा क्याम्पस, भिमस्थानले १२ लाख ९० हजार, त्रिपुरेश्वर शिक्षा क्याम्पस, बाहुन तिल्पुङले १० लाख १० हजार र गौमति बहुमुखि क्याम्पसले १४ लाख १५ हजार अनुदान प्राप्त गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगले गत पुष २३ गते सार्वजनिक सूचना निकाल्दै आ.व २०७८-०७९ को नियमित अनुदान प्राप्त गर्न निवेदन माग गरेको थियो । आयोगको कार्यक्रम कार्यविधि, २०७८ र सम्बन्धनप्राप्त सामुदायिक कयाम्पसहरुलाई अनुदान दिने निर्देशिका, २०७८ मा व्यवस्था गरिए अनुसार अनुदान वितरण गरिएको आयोगले जनाएको छ ।
नियमित अनुदान अन्तर्गत आयोगले स्नातक वा स्नातकोत्तर तह संचालन भई एक शैक्षिक सत्र (अन्तिम वर्षको परिक्षाफल प्रकाशित) पूरा गरी तोकिएको आधारहरु पुरा गरेका क्याम्पसहरुलाई सहयोग गरेको हो । आयोगले सो अनुदान राष्ट्रिय बाणिज्य बैंकको खातामा एबिबिएस सुविधा मार्फत जम्म गर्ने जानकारी दिएको छ ।