Thursday, January 23, 2025

घ्याङलेख गाउँपालिकामा बालविवाह विरुद्ध स्थानिय एक जुट

सिन्धुली – घ्याङलेख गाउँपालिकामा बालविवाह विरुद्ध स्थानियले आवाज उठाउने भएका छन् । बालविवाह न्यूनिकरणका लागि समुदाय परिचालन कार्यक्रममा स्थानिय र सरोकारवालाले आफ्नो टोल तथा वडामा बालविवाह हुन नदिने प्रतिवद्धता गरेका हुन् ।

बालविवाहले समाजमा नकारात्क असर पारिरहेको भन्दै बालविवाह न्यूनिकरणका लागि सबै एक जुट हुनुपर्ने घ्याङलेख गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बसन्त नाराय तामाङ्गले बताउनुभयो । “बालविवाह रोक्न सबै एक जुट हुनुपर्दछ । जनचेतनाको कमी भएकाले हाम्रो वडामा बालविवाह दिनप्रतिदिन बढ्दै गएको छ ।

यस्तो कार्यक्रम प्रत्येक विद्यालय स्तरमा संचालन गर्न सके केहि हर्द सम्म बालविवाह रोकिने थियो ।” उहाँले भन्नुभयो । घ्याङलेख गाउँपालिका वडा नम्बर ५ नेत्रकाली मा.विका कक्षा ९ र १० मा पढ्ने धेरै विद्यार्थीले विवाह गरिसकेको सोहि विद्यालयका शिक्षक समसेर बहादुर सुनुवारले बताउनुभयो । मुख्यत चेतनाको कमि साथै गरिबि र समाजले बालविवाह सहजै स्वीकारेको कारण वालविवाह धेरै हुने गरेको उहाँले बताउनुभयो । उहाँले बालविवाह रोक्नका लागि विद्यार्थीलाई नै सचेत गराउनु पर्ने बताउनुभयो ।

साथै शिक्षक सुनुवारले आगामी दिनमा आफ्नो विद्यालयका विद्यार्थीलाई बालविवाह बारे जानकारी दिने तथा त्यसको समस्या बारे जानकारी दिने र बालविवाह हुन लागेको थाहा पाएमा खबरदारी गर्ने प्रतिवद्धता गर्नुभयो । सोहि वडाका वडा अध्यक्ष ज्ञान बहादुर सिजाली मगरले बालविवाह कानुनी अपराध भएकाले यसलाई रोक्न सबै एक जुट हुनुपर्ने बताउनुभयो ।

उहाँले बालविवाह मुक्त वडा बनाउने समेत प्रतिवद्धता गर्नुभयो । वडा नम्बर ५ मा बालविवाह न्यूनिकरणका लागि वडा सदस्य बसन्त नाराय तामाङ्गको अध्यक्षतामा चार सदस्य समिति गठन भएको छ । उक्त समितिले बालविवाह हुन नदिन र बालविवाह भएको थाहा पाएमा सम्बन्धीत निकायमा जानकारी गराउने छ ।

घ्याङलेख गाउँपालिका वडा नम्बर ३ नेत्रकाली मा.विका विद्यार्थीले बालविवाह विरुद्ध खबरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बालविवाहले पछि नकारात्मक असर पार्ने जानकारी पाएपछि त्यहाँका स्थानिय, शिक्षक, विद्यार्थीले बालविवाहलाई बहिस्कार गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । वडा नम्बर ३ का वडा अध्यक्ष निश्चिल सुनवारले बालविवाह न्यूनिकरणका लागि आफु लागि पर्ने प्रतिवद्धता गर्नुभयो । वडा नम्बर ३ मा बालविवाह न्यूनिकरणका लागि वडा अध्यक्ष निश्चल सुनुवारको अध्यक्षतामा चार सदस्य गठन भएको छ ।

बालविवाह हुन नदिने घ्याङलेख गाउँपालिका वडा नम्बर २ स्थानिय, विद्यार्थी र सरोकारवाला निकायले प्रतिवद्धता गरेका छन् । वडा नम्बर दुइका वडा अध्यक्ष रोशन भ्लोनले समाजमा बढ्दोरुपमा देखिएको बालविवाह न्यूनिकरणका लागि सबै लागि पर्नुपर्ने बताउनुभयो । बालविवाह न्यूनिकरणका लागि विषेश योजना बनाइ अगाडि बढने समेत उहाँले प्रतिवद्धता गर्नुभयो । वडा नम्बर दुईमा बालविवाह न्यूनिकरणका लागि मा. वि मरिण हायुटार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर बलको अध्यक्षता चार सदस्य समिति गठन भएको छ ।

घ्याङलेख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोम बहादुर भोलनले वडामा बालविवाह विरुद्धको सचेतना कार्यक्रम संचालन गर्ने बताउनुभयो । “बालविवाहको कारण, समस्या र समाधानका बारेमा जानकारी गराउने यस्तै कार्यक्रम वडाका विभिन्न ठाउँमा संचालन गर्नका लागि आगामी दिनमा वडाबाट बजेट छुटाउने छु ।

चेतनाको कमीकै कारण बालविवाह बढेकाले यस्तो कार्यक्रममले केहि हर्द सम्म बालविवाह न्यूनिकरण हुने छ ।” उहाँले भन्नुभयो । बालविवाह न्यूनिकरणका लागि वडा नम्बर १ का वडा सदस्य राम कुमार थिङ्गको अध्यक्षतामा चार सदस्य समिति गठन भएको छ ।

घ्याङलेख गाउँपालिकाको आयोजना र सगुन सौगात मिडिया प्रालिको सहआयोजनामा घ्याङलेख गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा बालविवाह न्यूनिकरणका लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बालविवाह हुनुको प्रमुख कारण, त्यसले निम्त्याउने समस्या र समाधानको विषयमा छलफल भएको थियो ।

spot_img

Hot Topics

Related Articles