कास्की – पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले आज बिहीवार पद बहाली ग्रहण गर्दै तीन वटा निर्णय ग्रहण गर्नुभएकाे छ ।
आचार्यले न्यून आय भएका अभिभावकलाई बच्चाका लागि पोषण भत्ता दिने, पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने र पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय गर्नुभएकाे हाे ।
वडा कार्यालयको सिफारिसको आधारमा पाेषण भत्ता दिने घाेषणा गर्दै मेयर आचार्यले भत्ता कति समयमा दिने, कति दिने भन्ने आउँदाे बजेटमा उल्लेख हुने बताउनुभयाे ।
यस्तै पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्दै उहाँले बजेटमा व्यवस्था गरेर उत्कृष्टलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख गर्नुभयाे । यसका लागि एक महिनाको समय हुनेछ । पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’ को थ्रीडी सहितको डिजाइन बनाइ प्रस्ताव प्रस्तुत गर्न उहाँले आह्वान गर्नुभयाे ।
पोखरालाई चिनाउने योजनाअन्तर्गत पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई लिखित आग्रह पठाउने मेयर आचार्यकाे भनाइ छ । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारबाट निर्णय गराउन मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने उहाँकाे भनाइ छ ।
वैशाख ३० गते भएकाे पालिका चुनावमा नेकपा एमालेका कृष्णबहादुर थापालाई हराउँदै आचार्य मेयर निर्वाचित हुनुभएकाे थियाे ।
यस्तै उपमेयरमा विजयी एमालेकी मञ्जुदेवी गुरुङले अपाङ्गता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सम–सचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्नुभएकाे छ ।
यस अगाडि आजै पोखराका मेयर, उपमेयरसहित वडाध्यक्ष र सदस्यले शपथ ग्रहण गरे । मेयर आचार्यलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले शपथ गराउनुभएकाे थियाे । यस्तै उपमेयर, वडाध्यक्ष र सदस्यलाई मेयर आचार्यले शपथ ग्रहण गराउनुभयाे ।
उज्यालोबाट साभार