सिन्धुलीमा पानी प्रशोधन तथा डेरि उद्योग मा संयुक्त अनुगमन गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रमोद चन्द पौडेलको नेतृत्वमा हिजो सोमबार र आज मंगलबार अनुगमन गरिएको हो ।
फागुन २ गते कमलामाई नगरपालिका भित्रका कोसेली डेरी उद्योग, तिनपाटन डेरी उद्योग, कमलामाई डेरी उद्योग, एच।ए गाई फर्म र सिन्धुली डेरी उद्योग गरि ५ वटा डेरी उद्योगको अनुगमन गरिएको थियो । डेरीहरुको अनुगमन गर्दा दुग्घ खाद्य नियमावलीमा समाबेश गरिएको नियम पालना बिना नै डेरी संचालन गरिएको पाईएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रमोद चन्द पौडेलले जानकारी दिनु भयो ।
यस्तै, आज मंगलबार ३ वटा पानी प्रशोधन उद्योगको अनुगमन गरिएको थियो । जसमा कुचिएको, पुरानो भएको ४८ वटा जार नष्ट गरिएको थियो । अनुगमन गर्दा धुवाँ, धुलोबाट बच्नका लागी जारको फिलिनसेक्सन बन्द गर्नु पर्नेमा त्यस्तो नगरेको पाईएको, पानी परिक्षणका लागी समान्य प्रयोगशालाको व्यवस्था नगरिएको, पानी प्रशोधन ऐन, नियम, निर्देशिका पालना बिना नै उद्योग संचालन नगरिएको पाईएको छ ।
अनुगमन कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका निरिक्षक मनिषा पाण्डे, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलयका बिभिन्न कर्मचारीको उपस्थिति रहेको थियो ।