काठमाण्डौ – बन्द हड्तालका नाममा अत्यावश्यक वस्तुको सूचीमा रहेको दुग्ध क्षेत्रलाई अवरोध गरिएको भन्दै नेपाल डेरी एसोसिएशनले आपत्ति जनाएको छ ।
एमसीसी पास परेको विरोधमा विभिन्न दलले आज गरेको नेपाल बन्दका क्रममा काभ्रेको बनेपाबाट दूध लिएर काठमाण्डौ आउँदै गरेको गाडीलाई सुकेधारामा तोडफोड गरिएको भन्दै एसोसिएशनले आपत्ति जनाएको छ ।
सरकारले नै दुग्ध क्षेत्रलाई अति आवश्यक सूचीमा राखेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि विना रोकतोक ढुवानी भइरहेकोमा यसपटक गाडी तोडफोड एवम् ढुवानीमा समेत अवरोध सिर्जना भएकोमा डेरी एसोसिएशनले घटनाको भर्त्सना गरेको छ ।
बन्द, हड्ताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा दूध र दुग्धजन्य पदार्थ ढुवानीमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा प्रतीक चिह्न ९लोगो० प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सिर्जना हुनु दुस्खद भएको एसोसिएशनको भनाइ छ ।
आइन्दा अत्यावश्यक वस्तु बोक्ने कुनै पनि गाडी माथि तोडफोड नगर्न र आज तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई नेपाल डेरी एसोसिएशनले आग्रह गरेको छ ।