खेतबारीमा पसेर जङ्गली जनावरले अन्न बालीमा क्षति पुर्याउन थालेपछि सिन्धुपाल्चोकका किसानहरू चिन्तित भएका छन् ।
भित्राउने बखतका अन्नबाली, फलफूल र तरकारी खेतीमा बँदेल, बाँदर मृग र हरिण लगायतका जङ्गली जनावरले क्षति पुर्याउन थालेपछि सिन्धुपाल्चोकका किसानहरू चिन्तित भएका हुन् ।
जङ्गली जनावर नियन्त्रण गर्ने गतिलो उपाय नभएपछि किसानहरू टिन ठटाउँदै, शङ्ख फुक्दै र होहल्ला गर्दै आफ्ना खेतबारी रुँग्न थालेका छन् ।
दिनको समयमा बाँदर, हरिण, मृग र रातको समयमा बँदेलले बाली सखाप पार्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ का ७२ वर्षीय किसान जगत पराजुलीको रातको समय टिन ठटाएर बित्ने गरेको छ ।
पाक्नै लागेको बाली रातको समयमा बँदेलले सखाप पार्न थालेपछि दिनभरि बाँदर धपाउँदै र रातभर टिन ठटाएर बँदेल लखेट्दै उहाँको दिन बित्ने गरेको हो ।
७२ वर्षको उमेरमा पनि निद्रा माया मारेर खेतबारी रुँग्नु पर्दा आफूलाई औधी दुख लागेको किसान पराजुली बताउनुहुन्छ ।
हुन पनि खेतबारीमा लगाएको अन्न बाली र फलफूल जङ्गली जनावरले सखाप पार्न थालेपछि अहिले सिन्धुपाल्चोकका किसानहरूको न दिनमा चैन छ, न त रातमा निन्द्रा । दिनभरि बाँदर धपाउने र रात परेपछि बँदेल लखेट्न टिन ठटाउँदै, शङ्ख फुक्दै र होहल्ला गदै खेतबारी रुँग्नु पर्ने किसानहरूलाई बाध्यता छ ।
इन्द्रावती गाउँपालिका किसानहरू अहिले खेतीपाती छोडेर अन्य पेसामा लाग्ने बताउनुहुन्छ । “कालुको बारीमा भालुको रजाइँ भने झैँ भएको छ’’ इन्द्रावती गाउँपालिका, धुसेनीका किसान मुक्तिनाथ आचार्यले भन्नुभयो । “अर्को सालदेखि त खेतबारी बाँझो नै राखेर अन्य पेसामा लाग्नुपर्ने भयो’’ उहाँले थप्नुभयो ।
त्यसो त जङ्गली जनावरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीय सरकारले पनि जङ्गली जनावर नियन्त्रणका लागि उपाय खोज्न थालेका छन् ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जङ्गली जनावर नियन्त्रणका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाले पनि चालु आर्थिक वर्षमा बँदेल र बाँदर नियन्त्रणका लागि निश्चित बजेट विनियोजन गरेको मेयर आमान सिंह तामाङले जानकारी दिनुभयो ।
जिल्लाको लेकाली भेगमा बँदेल र मध्य भेगमा बाँदर, हरिण र मृगको बिगबिगी बढ्न थालेको जिल्ला बन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बस्र्यौनी लाग्ने गरेको डढेलो र बन फडानीले जङ्गली जनावरको वासस्थान मास्न थालेपछि बासस्थान र आहारा खोज्न जङ्गली जनावरहरू मानव बस्ती पस्न थालेको विज्ञहरूको भनाइ छ ।
जङ्गली जनावरहरूबाट मानव बस्ती र खेतबारी जोगाउनका लागि उचित उपायसहित प्राकृतिक रुपमा नै चरणको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।