सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरे र बाघमाराका किसानहरूले व्यवसायीक भुइँकटहर खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कोदो र मकै फल्ने बारीमा अहिले किसानहरूले व्यवसायीक रुपमा भुइँकटहर रोपेका हुन् । कोदो, मकै लगायतका अन्नबाली भन्दा राम्रो उत्पादन कटहरबाट भएको भन्दै करकरे र बाघमाराका किसान कटहर खेतीमा आर्कषित भएको बताउँछन् । पहिले एकादुई जनाले आँफुलाई खानलाई मात्र रोपेको कटहर अहिले भने प्रत्येक किसानले ५ कठ्ठा भन्दा बढी जमिनमा रोपेका छन् । कटहरको एक सिजनमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका किसान बताउँछन् ।
बाघमाराका स्थानीय शेर बहादुर तामाङ्गको २०५३ सालमा आफ्नो बाँझो जमिनमा खानको लागि रोपेको कटहर अहिले जीविकोपार्जनका लागि साहारा बनेको छ । उहाँले अहिले १५ कठ्ठा भन्दा वढी जमिनमा कटहर रोप्नु भएको छ । लोकल र हाईब्रेड दुवै थरी कटहर रोपेका उहाँको ग्राहकले भने लोकल कटहर नै रुचाउछन् ।
विपि राजमार्ग नजिकै घर भएकाले पनि बिक्री नहोला भन्ने कुनै चिन्ता नभएको उहाले बताउनुभयो । घरैबाट उहाँले अहिले लोकल सानो दानाको ६०, ठुलोको ७० र हाईब्रेड कटर सय रुपैयाँमा बिक्री गरिरहनु भएको छ । असारको अन्तिम देखि साउन महिनाको अन्तिमसम्म उहाँले कटहरबाट ६० हजार आम्दानी गरेको बताउनुभयो । गत वर्ष १ लाख वढी आम्दानी गरेका शेरबहादुरले यो वर्ष भने खडेरीले भने जति आम्दानी गर्न नसकेको बताउनुभयो । कटहरसँगै उहाँले मौसमी फलफूलहरू लिच्चि, आँप लगाएतका फलफुल समेत लगाउनु भएको छ । अर्को वर्ष देखि लिच्ची थप लगाउने तयारी गरेको उहाँले सुनाउनुभयो । शेरबहादुर जस्तै बाघमाराका १० घरपरिवारले व्यवसायीक रुपमा कटहर खेति गरिरहेका छन् । बाघमारा क्षेत्रमा पानीको अभावको कारण भने जति कटहर उत्पादन गर्ने नसकेको किसानहरुले गुनासो गरेका छन् ।
यस्तै करकरेका स्थानिय गणेशमान श्रेष्ठले पनि अन्नबाली लगाउन छाडेर कटहर खेति सुरु गर्नु भएको छ । नगरपालिकाको वडा नं ८ करकरे क्षेत्रलार्ई कमलामाई नगरपालिकाले कटहर पकेट क्षेत्र घोषण गरेको छ । कमलामाई नगरपालिकाले खटहर खेतिको लागि करकरेमा सिँचाइ, विरुवा, तालिम लगाएत आवश्यक सामाग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवी सापकोटाले बताउनुभयो । साथै उहाँले किसानलाई प्राविधिक, विरुवा लगाएत कृषि सामग्रीको आवश्यक भएमा कमलामाई नगरपालिकामा सम्र्पकमा गर्न आग्रह गर्नु भयो ।