मरिण गाउँपालिकाको वडा नम्बर ५ बडीममुहानमा निर्माणाधिन महादेवस्थान स्वास्थ्य चौकी भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको नेतृत्वमा स्वास्थ्यचौकी भवनको आज अवलोकन गरेर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।
अमेरिकन सरकारको आर्थिक सहयोग तथा युएस ए आईडीको प्राविधिक सहयोगमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भईरहेको छ । ८ करोड ५० लाख अमेरिकी सहयोगमा स्वास्थ्य चौकी निर्माण भईरहेको गाउँपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो । उहाँका अनुसार गत वर्ष निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन यहि भदौ अन्तिम सम्ममा निर्माण सम्पन्न भईसक्ने छ ।
नव निर्मित भवनमा स्वास्थ्य चौकीबाट दिने सम्पूर्ण सुविधा संचालन हुने अध्यक्ष बम्जनले बताउनुभयो । साथै उक्त स्वास्थ्य चौकीमा दातको विरामीको उपचार गर्न डेन्टल सेवा पनि संचालन हुने भएको छ ।
महादेव स्वास्थ्य चौकी भवन अवलोकन कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझी, वडा अध्यक्ष प्रचार सिं बम्जन, मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखे, परियोजना सँग सम्बन्धित बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।