Thursday, October 3, 2024

बंगुरपालन व्यवसाय गरेर घ्याङ्लेखका योञ्जन मनग्य आम्दानी लिँदै

सिन्धुली – घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ का शम्भु बहादुर योञ्जन बंगुर पालेर मनग्य आम्दानी लिइरहनु भएको छ ।
उहाँले वि.सं २०७१ सालबाट चन्दनपुर बंगुर फर्म दर्ता गरेर बंगुर पालनलाई व्यावसायिक रुपमा अगाडि बढाउनु भएको थियो । अहिले उहाँ आफ्नो व्यवसायमा रमाई रहनुभएको छ ।
५० हजार लगानीबाट सुरु गर्नुभएको बंगुर व्यवसायबाट अहिले वार्षिक ६ देखि ७ लाख आम्दानी हुने गरेको फर्म सञ्चालक योञ्जनले पालिका आवाजलाई बताउनु भएको छ ।
बंगुर फर्म सञ्चालक योञ्जन घ्याङ्लेख गाउँपालिकाको असिस्टेन सब इन्जिनिएर पनि हुनुहुन्छ । गाउँपालिका कार्यालयको काममा व्यस्त भएपनि घरपरिवारको राम्रो सहकार्य भएकोले गर्दा उहाँलाई धेरै सजिलो भएको छ । उहाँले भन्नुभयो, ‘म कार्यालयमै व्यस्त हुन्छु, विहान बेलुका र छुट्टीको समयबाहेक अरु बेला समय दिन पाउँदिन ।’ आफुलाई यो पेशामा परिवारको राम्रो साथ मिलेको भन्दै उहाँ भन्नुहुन्छ, ‘मैले नभ्याएको बेला श्रीमती र छोरा बुहारीहरुले साथ दिन्छन्, त्यसैले अहिलेसम्म सोचेजत्तिकै आम्दानी भइरहेको छ ।’
उहाँले ११ वटा बंगुरको बच्चाबाट व्यवसायको सुरु गर्नुभएको थियो । अहिले उहाँको फर्ममा ११ वटा नै बंगुर रहेको छ । उहाँको फर्ममा माउ बंगुर मात्रै ७ वटा रहेको छ । पहिले ३ वर्ष मासुको लागि बंगुर पाल्नु भएका उहाँले अहिले बच्चा उत्पादन गरेर बच्चा बिक्रीका लागि बंगुर पाल्नु भएको छ ।
अहिले बंगुरको बच्चा गाउँमै सजिलै बिक्रि हुने गरेको छ । उहाँले भन्नुभयो, ‘पहिले मासुको लागि मात्रै भनेर पालेको थिएँ, मासु खासै बिक्रि भएन । त्यसपछि बच्चा उत्पादनको लागि बंगुरको माउ नै पालेर बच्चा बेच्न थाले अहिले त्यस्तो समस्या छैन जुन मासुको लागि बंगुर पाल्दा थियो ।’
एउटा माउँ बंगुरले वर्षमा ३ पटकसम्म बच्चा जन्माउछ । अहिले एक वर्षमा १ सय ५० वटासम्म बंगुरको बच्चा बिक्रि हुने गरेको फर्म सञ्चालक योञ्जनले बताउनु भयो । उहाँका अनुसार अहिले एउटा बंगुरको बच्चाको ४ हजार देखि ४ हजार ५ सयसम्ममा लाने गरेका छन् ।
घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ को चन्दनपुर गाउँ क्षेत्रमा बंगुर पाल्नेको घरपरिवार संख्या धेरै छ । चन्दनपुर क्षेत्रमा मात्र नभएर गाउँपालिका भरि नै मगर समुदायको बसोबास धेरै भएको र प्राय मगर, तामाङ, सुनुवार समुदायले धेरै रुचाउने भएकाले यो बंगुरपालन व्यवसाय गरेको उहाँले बताउनुभयो । आफुलाई व्यस्त राख्न र गाउँले अनि छरछिमेकीको आवश्यता पनि पुरा हुने भएकाले यो व्यवसायमा लागेको उहाँ बताउनुहुन्छ ।
उहाँले पहिलेको व्यवसायलाई पनि अब चाँडै सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो भन्दा पहिले किराना पसल मात्र थियो, अहिले बन्द छ अब केही समयपछि लक्ष्मी किराना पसललाई पनि निरन्तर सञ्चालन गर्छु ।’
उहाँले बंगुरपालन व्यवसाय सुरु गर्नुभन्दा पहिले किराना पसल सञ्चालन गर्नुभएको थियो । पहिले लक्ष्मी किराना पसल चलाएर बस्नुभएका योञ्जन पछिल्लो समय किराना पसललाई भन्दा बंगुरपालनमा आफ्नो मुख्य पेशा रुपमा लिएर अगाडि बढिरहनुभएको छ ।

spot_img

Hot Topics

Related Articles